स्पेनिस ला लिगा

एट्लेटिकोको रोमाञ्चक जित

काठमाडौं । दुई गोलले पछि परेको स्थिति उल्टाउँदै एट्लेटिको मड्रिडले स्पेनिस ला लिगामा आइतबार राति रोमाञ्चक जित निकालेको छ ।

मड्रिडले घरेलु मैदानमा काडिजलाई ३–२ ले हराएको हो । २७ मिनेटसम्म दुई गोलले पछि परेको मड्रिड खेलमा फर्कन सफल भएको थियो ।  

मड्रिडको जितमा अर्जेन्टिनी स्टारद्वय एन्जल कोरियाले दुई तथा नाहुइल मोलिनाले एक गोल गरेका थिए ।

खेलको १२औं मिनेटमा लुकास पिरेज र २७औं मिनेटमा रोजर मार्टीले गोल गर्दै काडिजलाई बलियो स्थितिमा पुर्याएका थिए । तर, एट्लेटिकोले यसपछि आक्रामक खेल प्रदर्शन गर्दै जित निकालेको हो ।

३२औं मिनेटमा कोरियाले पहिलो गोल गरे । मोलिनाले ४६औं मिनेटमा बराबरी गोल गरेका हुन् । कोरियाले ६६औं मिनेटमा विजयी गोल गरेका थिए ।