इङ्लिस प्रिमियर लिग

वाट्किन्सको ह्याट्रिकमा एस्टन भिल्लाको फराकिलो जित

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा शनिबार घरेलु टोली एस्टन भिल्लाले ब्राइटनमाथि ६-१ को फराकिलो जित निकालेको छ ।

जितसँगै ७ खेलमा १५ अंक जोडेको एस्टन भिल्ला चौथो स्थानमा उक्लिँदा पराजय व्यहोरेको ब्राइटन समान खेलबाट १५ नै अंकका साथ पाँचौं स्थानमा छ ।

भिल्ला पार्कमा एस्टन भिल्लालाई जित दिलाउन ओ वाट्किन्सले ह्याट्रिक गरे । जाकोब राम्से र डोग्लास लुइजको नाममा समान १ गोल रह्यो । १ गोल आत्मघाती उपहार स्वरुप प्राप्त भयो ।  ब्राइटनका लागि अन्सु फातीले १ गोल गरे ।

खेलको १४ औं मिनेटमा वाट्किन्सको गोलमार्फत एस्टन भिल्लाले अग्रता लिएको थियो । २१ औं मिनेटमा उनैले टोलीको अग्रता दोब्बर बनाए ।

पाँच मिनेटपछि पर्भिस स्टुपिआनबाट आत्मघाती गोल हुन पुग्दा एस्टन भिल्ला ३-० ले अगाडि बढ्यो ।

५० औं मिनेटमा फातीले गोल गरेपछि खेल ३-१ को स्थितीमा आयो । ६५ औं मिनेटमा वाट्किन्सले ह्याट्रिक पूरा गर्दै एस्टन भिल्लाको अग्रता ४-१ को बनाए ।

८५ औं मिनेटमा राम्से र इन्जुरी समयमा लुइजले गोल गर्दै भिल्लालाई ६-१ को फराकिलो जित दिलाए ।