
काठमाडौं । रक्षक सुरज जिउ ठकुरी नेपाल सुपर लिगको दोस्रो संस्करणमा पोखरा थन्डर्सबाट खेल्ने भएका छन् । ए श्रेणीका सुरजलाई न्युनतम एक लाख ५० हजारमा पोखराले लिलामी मुल्य लगाएको हो ।
पहिलो संस्करण सुरज विराटनगर सिटी एफसीबाट खेलेका थिए । त्यसपछि राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । पोखराको मार्की खेलाडीमा आयुष घलान रहेका छन् ।
आयोजक नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लीले अक्सनमा एक सय ७९ खेलाडीलाई राखेको छ । ‘ए’ श्रेणीको न्युनतम मुल्य एक लाख ५० हजार देखि उच्च तीन लाख ५० हजार छ । ‘बी’ श्रेणीको न्युनतम मुल्य एक लाख देखि एक लाख सम्म छ । श्रेणी ‘सी’ मा न्युनतम ८० हजार देखि एक लाख ३० हजारसम्ममा खरिद गर्न सक्छन् ।
कुनै खेलाडीलाई एक भन्दा बढि खेलाडीले लिलामी लगाएमा गोलप्रथाद्वारा छनोट गरिनेछ ।
प्रतियोगिता मंसिर आठबाट आयोजना हुँदैछ । दोस्रो संस्करणमा ९ टोली सहभागी छन् । गतसिजन खेलेको विराटनगर सिटी एफसीले आयोजकसँगको असन्तुष्टिका कारण नाम फिर्ता लिएका थियो ।
साविक विजेता काठमाडौं रेजर्स, धनगढी एफसी, स्पोर्टिङ इलाम एफसी, झापा एफसी, विरगंज युनाइटेड, एफसी चितवन, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीले सहभागीता जनाउनेछन् ।