साफ यु-१९ च्याम्पियनसिप

साफ यु-१९ च्याम्पियनसिपः भारतको सामना गर्दै नेपाल

काठमाडौं ।  घरेलु टोली नेपालले  दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१९ च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा बुधबार चिरपरिचित प्रतिद्धन्द्धी भारतको सामना गर्दैछ ।

खेल नेपाली समयअनुसार साँझा ५ः ३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ ।

नेपाल समूह ‘ए’ को उपविजेता तथा भारत समूह ‘बी’ को विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेका हुन्  ।

समूह चरणमा नेपालले एक जित र एक हारको नतिजा निकाल्दा भारतले दुवै खेल आफ्नो पक्षमा परेको थियो । पाकिस्तानसँग १-० को पराजय ब्यहोरेको नेपालले माल्दिभ्सलाई ४-१ ले स्तब्ध बनाएको थियो । भारतले बंगलादेशलाई ३-० र भुटानलाई २-१ ले हराएको थियो ।

हालसम्म साफ यु-१९ च्याम्पियनसिपको चार संस्करण सम्पन्न हुँदा नेपाल र भारतसमान दुई पटक च्याम्पियन बनेका छन् ।

सन् २०१५ मा साफ यु-१९ च्याम्पियनसिपको नाममा नेपालबाटै सुरु भएको यो प्रतियोगितामा नेपालले भारतलाई पेनाल्टी सुटआटमा पराजित गर्दै उपाधिमाथि कब्जा गरेको थियो ।

सन् २०१७ मा  भुटानले साफ यु-१८ च्याम्पियनको नाममा दोस्रो संस्करण आयोजना गर्याे ।  राउन्ड रोबिन पद्धतिमा खेलाइएको यो संस्कणमा नेपालले अंक तालिकोको शीर्ष स्थान कब्जा गर्दै उपाधि रक्षा गरेको थियो ।  लिग चरणमा नेपालले भारतलाई २-० ले  स्तब्ध बनाएकाे थियाे । 

तेस्रो संस्करण सन् २०१९ मा नेपालले आयोजना गरेको थियो । साफ यु-१८ च्याम्पियनसिपको नाममा आयोजना भएको यो प्रतियोगितामा भारत च्याम्पियन बन्यो ।

पछिल्ला दुई संस्करणको विजेता नेपालले भने समूह चरण पनि पार गर्न सकेन । यो संस्करणमा नेपाल र भारतको भेट भएन ।

भारतले गत वर्ष साफ यु- २० च्याम्पियनसिपको नाममा प्रतियोगिताको चौथो संस्करण आयोजना गरेको थियो । भारतले फाइनलमा बंगलादेशमाथि ५-२ ले हराउँदै उपाधि रक्षा गर्यो ।

सिंगल राउन्ड रोबिनपछि अंकका आधारमा शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । लिग चरणमा नेपालले भारतसँग ८-० को फराकिलो हार ब्यहोरेको थियो ।

पछिल्ला दुई संस्करणमा खराब प्रदर्शन गरेको नेपाल घरेलु मैदानको फाइदा उठाउँदै यसपटक उपाभि जित्ने लक्ष्यमा छ । भारत पनि आफ्नो लयलाई कायम राख्दै उपाधिमा ह्याट्रिक गर्ने सोचमा छ ।

यसैगरी दिउँसो १ः ३० मा सुरु हुने पहिलो सेमिफाइनलमा पाकिस्तान र भुटान भिड्दैछन् ।