साफ यु १९ च्याम्पियनसिप

पहिलो हाफमा माल्दिभ्सविरुद्ध नेपाललाई २–० को अग्रता

काठमाडौं । माल्दिभ्सविरुद्धको पहिलो हाफमा नेपालले २–० को अग्रता बनाएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१९ प्रतियोगिताको आफ्नो दोस्रो खेलमा अहिले नेपाल र माल्दिभ्स प्रतिस्पर्धा गरिरहेका छन् । नेपालको लागि प्रशान्त लक्षम र समिर तामाङले गोल गरे ।

दशरथ रंशगालामा खेलको १७औं मिनेटमा नेपालले अग्रता बनायो । प्रशान्त लक्षमले नेपाललाई प्रतियोगितामा पहिलो गोल निकालेका थिए । माल्दिभ्सका रक्षकले क्लियर गरेको बललाई ३० यार्डमा नियन्त्रण गर्दै प्रशान्तले हानेको लामो सट पहिलो बारमा लाग्दै जाली चुमेको थियो । यु-१६ टोलीका कप्तान समेत रहेका प्रशान्त पहिलो खेलमा पाकिस्तानविरुद्ध बेन्चमा थिए ।

खेलको ३० औं मिनेटमा नेपालले दोस्रो गोल गरेको हो । समिर तामाङले बक्स भित्रबाट सहज गोल गरेका हुन् । निराजन धामीले मध्यभागबाट निकालेको थ्रु बललाई अगाडी बढाउँदै समिरले गोल गरेका हुन् ।

खेलको ३४औं मिनेटमा नेपाल र माल्दिभ्स १० खेलमा सिमित बनेका थिए । मध्यभागमा एक अर्कालाई हातपात गरेपछि नेपालका सुजन डंगोल र माल्दिभ्सका मोहम्मद इयान हसनलाई भुटानी रेफ्री छिरिङ पेमाले रातो कार्ड देखाएका थिए ।

खेलको छैटौं मिनेटमा प्रशान्त लक्षमले बक्स भित्रबाट हानेको प्रहार पोष्टमा लाग्दै बाहिरिएको थियो । खेलको आठौं मिनेटमा निरञ्जन धामीले बक्स भित्रबाट हानेको प्रहार दोस्रो हारबाट बाहिरिँदा नेपाल अग्रता बनाउन चुकेको थियो ।

आजको खेलमा सुनिल श्रेष्ठको प्रशिक्षणमा रहेको नेपाललाई जित्नै पर्ने दवाव छ । यदि हार वा बराबरीले पनि नेपाल पुनः एकपटक समूह चरणबाटै बाहिरिनेछ । जितले भने नेपाल समूह उपविजेता बन्दै सेमिफाइलनमा पुग्नेछ । माल्दिभ्सलाई अन्तिम चारमा पुग्न बराबरी काफी छ ।

समूह ‘ए’ मा पाकिस्तान दुई खेलबाट चार अंकसहित सेमिफाइलनमा स्थान बनाइसकेको छ । पहिलो खेलमा नेपाललाई १–० ले हराएको पाकिस्तान दोस्रो खेलमा माल्दिभ्ससँग १–१ गोलको बराबरी खेलेको थियो । पाकिस्तान यस प्रतियोगितामा पहिलो पटक सहभागी भएको हो । डेब्यु प्रतियोगितामै टोली अपराजित रहँदै अन्तिम चारको यात्रा गरिसकेको छ ।

आज नै हुने दोस्रो खेलमा भारत र भुटान प्रतिस्पर्धा गर्नेछन् । समूह ‘बी’बाट दुबै टोलीले सेमिफाइनलमा स्थान बनाएका छन् । दुई पटकको उपविजेता बंगलादेश समूह चरणबाटै घर फर्किएको छ । प्रतियोगिताको पाँचौ संस्करण आइपुग्दा नेपाल र भारतले समान दुई पटक च्याम्पियन भएका छन् ।