काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१९ च्याम्पियनसिपमा सोमबार माल्दिभ्सविरुद्ध घरेलु टोली नेपाललाई जित निकाल्दै पर्ने दबाब छ ।
नेपाल र माल्दिभ्सबीचको खेल सोमबार दिउँसो १:३० मा दशरथ रंगाशालामा सुरु हुनेछ । यो खेलमा हार वा बराबरीको नतिजा निस्किएमा नेपाल समूह चरणबाटै बाहिरिने छ ।
शनिबार माल्दिभ्स र पाकिस्तानबीचको खेल १-१ को बराबरीमा सकिएपछि नेपाललाई जित्नै पर्ने दबाबा आएको हो ।
नेपाल पहिलो खेलमा बिहीबार पाकिस्तानसँग १-० ले पराजित भएको थियो । समूह ‘ए’ बाट पाकिस्तानले २ खेलमा ४ अंकका साथ सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।
माल्दिभ्सलाई भने जित वा बराबरी नतिजा सेमिफाइनलमा पुग्न पर्याप्त हुनेछ।
समूह ‘बी’ मा भारत र भुटानले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् । पहिलो खेलमा भारतले बंगलादेशलाई ३-० तथा दोस्रो भुटानले बंगलादेशलाई ४-३ ले हराएका थिए ।
पाकिस्तानविरुद्धको हारपछि नेपालका मुख्य प्रशिक्षक सुनील श्रेष्ठले पहिलो खेलमा योजनाअनुसारको प्रदर्शन नभएको स्विकार्दै माल्दिभ्सविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने बताएका थिए।
‘योजना अनुसारको प्रदर्शन भएन । हामीलाई पाकिस्तानले कस्तो खेल्न भन्ने पनि थाहा थिएन । पहिलो खेल भएकाले खेलाडीको तालमेल केही नमिलेको जस्तो देखिया,’ श्रेष्ठले भने,‘ एयर बलहरुमा हामी कमजोर देखियौं । पहिलो खेलमा हार व्यहोरे पनि हामी बाहिरिसकेका छैनौं । माल्दिभ्सविरुद्धको खेलमा अझै राम्रो गर्नेछौं ।’