
काठमाडौं । इङ्लिस प्रिमियर लिगअन्तर्गत न्युक्यासल युनाइटेडले लगातार तीन खेलको हार शृंखला रोकेको छ । शनिबार राति भएको खेल न्युक्यासलले ब्रेन्टफोर्डलाई १–० ले हराएको हो ।
दोस्रो जितसँगै न्युक्यासल ६ अंक जोड्दै ११औं स्थानमा उक्लिएको छ । पराजित बाबजुद ब्रेन्टफोर्ड समान अंकसहित १०औं स्थानमा यथावत छ । पाँच खेलमा सतप्रतिशत जितसहित साविक विजेता म्यानचेष्टर सिटी शीर्षस्थानमा विराजमान छ ।
घरेलु मैदान सेन्ट जेम्स पार्कमा ५१ हजार ६ सय ७० समर्थकमाझ कलुम विल्सनले निर्णायक गोल गरेका थिए । उनले खेलको ६४औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै हार शृंखला रोकेका हुन् ।
यसअघि ब्रेन्टफोर्डका गोलकिपर मार्क फ्लिकेनले न्युक्यासल विंगर एन्थोनी जोर्डनलाई पेनाल्टी क्षेत्रमा लडाएपछि रेफ्रीले पेनाल्टी अवसर दिएका थिए ।
नयाँ सिजनको पहिलो खेलमा एस्टन भिल्लाविरुद्ध ५–१ को जित निकालेको न्युक्यासल त्यसपछिका तीन खेलमा हार बेहोरेको थियो । साविक विजेता म्यानचेष्टर सिटीसँग १–०, लिभरपुलविरुद्ध २–१ र बे्रन्टफोर्डसँग ३–१ ले पराजित भएको थियो ।
अब, च्याम्पियन्स लिगको समूह ‘एफ’ मा न्युक्यासलले मंगलबार राति एटालिन सिरी ए क्लब एसी मिलानसँग खेल्ने तालिका छ ।