श्रीकृष्ण कप फुटबल

श्रीकृष्ण कप फुटबलः पिपलडाँडा च्याम्पियन

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ६ पिपलडाँडा श्रीकृष्ण कप सेभेन ‘ए साइड नकआउट फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

चौतारा फुटबल क्लबको आयोजनामा शुक्रबार सम्पन्न फाइनलमा पिपलडाँडाले महांकाल भुमि तामाङ समाजलाई ३-१ ले स्तब्ध बनायो ।

पिपलडाँडालाई उपाधि दिलाउन युवराज ढकालले दुई र श्रीकृष्ण लामाले एक गोल गरे। महांकालको लागि नविन तामाङले पेनाल्टीमा एक सान्त्वना गोल गरे। पहिलो हाफमै ३-० गोलले पछि परेको महांकालले खेलमा फर्कन निकै संघर्ष गरे पनि सफल हुन सकेन।

उपाधिसँगै पिपल्डाँडाले ५५ हजार रुपैयाँ प्राप्त गर्दा  र उपविजेता महांकालले २५ हजार रुपैयाँ पायो ।

त्यसअघि पहिलो सेमिफाइनलमा महाकालले सुकेटेबिच गाइज लाई ३-० तथा पिपल्डाँडाले धार्पा युवा क्लबलाई ३-२ ले हराउँदै उपाधि भिडन्त पक्का गरेका थिए ।

प्रतियोगिताको उत्कृष्ट रक्षक महांकालका रोमन श्रेष्ठ, उत्कृष्ट गोलकिपर पिपल्डाँडाका नविन शिल्वाल, उत्कृष्ट मिडफिल्डर महांकालका राम ढकाल, सर्वाधिक गोलकर्ता महांकालकै नविन तामाङ चुनिए । नविनले प्रतियोगिता भर पाँच गोल गरेका थिए ।

यस्तै पिपलडाँडाका युवराज ढकाल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए। ‘फेयर प्ले’ को उपाधि लिल्फुङ घले समाजले हात पार्यो। यी सवै विधाका खेलाडीले ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरे।

प्रतियोगिताको समापन समारोह चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख सीता थापाले विजेता तथा उपविजेता सबै खेलाडीलाई ट्रफी मेलड र प्रमाणपत्र वितरण गरेकी थिइन् ।