काठमाडौं । कप्तान लियोनल मेसीको निर्णायक गोलमा अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को अमेरिकी छनोटमा विजयी सुरुआत गरेको छ । घरेलु मैदानमा अर्जेन्टिनाले इक्वेडरलाई १–० ले हराएको हो ।
शुक्रबार बिहान सम्पन्न खेलमा जितसँगै अर्जेन्टिनाले महत्वपूर्ण तीन अंक जोडेको छ । अर्जेन्टिना दोस्रो स्थानमा छ । १० टोलीसम्मिलित छनोटमा कोलम्बिया शीर्षस्थानमा छ ।
इक्वेडरविरुद्ध अर्जेन्टिनाले फिफा विश्वकप २०२२ च्याम्पियन खेलाडीलाई नै मैदान उतारेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ७८औं मिनेटमा मेसीले अग्रता दिलाएका हुन् । बक्स बाहिर पाएको फ्रिकिकलाई मेसीले गोलमा परिणत गरेका थिए ।
खेलसकिन एक मिनेट अघि मेसीले मैदान छाडेका थिए । कप्तानी आर्म ब्यान्ड एन्जल डि मारियाले लगाएका हुन् । खेलम मेसी र डि मारियासँगै विश्वविजेता लौटारो मार्टिनेज र जुलियन अल्भारेजले पाएको अवसर चुकाउँदा गोलअन्तर बढ्न सकेन ।
अब, अर्जेन्टिनाले छनोटअन्तर्गत बालिभियासँग १३ सेप्टेम्बरमा खेल्ने तालिका छ ।