सिन्धुपाल्चोक । चौतारा फुटबल क्लबको आयोजनामा जारी श्रीकृष्ण कप सेभेन ‘ए’ साइड नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ।
बिहिबार प्रतियोगिता अन्तर्गत क्वार्टरफाइनलका चार खेल सम्पन्न भए । पहिलो क्वार्टरफाइनलमा सुकेटेबिच गाइजजले एलबिआर युथ क्लबलाई २-० ले पराजित गर्यो ।
सुकेटेलाई जित दिलाउन गोलरक्षक सुशान्त खड्का र सुजन माझीले गोल गरे। दुवै गोल दोस्रो हाफमा भएको हो।
दोस्रो क्वार्टरफाइनलमा चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ६ ले बतासेलाई पेनाल्टी सुटआउटमा ४-३ ले स्तब्ध बनायो । निर्धारित ४० मिनेटमा दुवै टोलीबाट गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा लिइएको हो।
महांकाल भुमि तामाङ समाजले तेस्रो क्वार्टरफाइनलमा लिल्फुङ घले समाजलाई सडन डेथमा ५(४ हरायो । निर्धारित समयमा दुवै टोलिबाट गोल नहुँदा खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो।
यस्तै चौथो अन्तिम क्वार्टरफाइनल खेलमा धार्पा एफसीले खुदुनाबारी स्पोर्टिङ क्लबलाई २ ० ले स्तब्ध बनायो । धार्पालाई जित दिलाउन सागर तामाङ र सुदर्शन श्रेष्ठ गोल गरे। दुवै गोल दोस्रो हाफामा भएको थियो।
सेमिफाइनलका खेलहरु शुक्रबार हुनेछन् । पहिलो सेमिफाइनलमा सुकेटेले महांकाल भुमि तामाङ समाजको सामना गर्नेछ। यो खेल बिहान ८:३० बजेबाट सुरु हुनेछ।
दोस्रो सेमिफाइनलमा पिपलडाँडाले धार्पाको साकना गर्नेछ। यो खेल बिहान १० बजेबाट सुरु हुनेछ। यस्तै फाइनल खेल शुक्रबार नै नै दिउँसो ३ बजे हुनेछ।
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा टुँडिखेलस्थित मिनि रंगशालामा जारी प्रतियोगिताको विजेताले ५५ हजार र उपविजेता २५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्।