इङ्लिस प्रिमियर लिग

हाल्यान्डले प्राप्त गरे पिएफए पुरुष वर्ष खेलाडी अवार्ड

काठमाडौं । म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हाल्यान्डले पिएफए पुरुष वर्ष खेलाडी अवार्ड प्राप्त गरेका छन् ।

प्रोफेसनल फुटबलर्स एसोसियसनले प्रदान गर्ने यो अवार्डमा हाल्यान्डले आफ्नै सहकर्मी केभिन डि ब्रुयना र जोन स्टोन्स, आर्सनलका बुकायो साका र मार्टिन ओडेगार्ड तथा तत्कालिन टोटेनहम (हाल बायर्न म्युनिख) का ह्यारी केनलाई पछि पारे ।

हाल्यान्ड सन् २०२२ मा पाँच करोड १० लाख पाउन्डमा जर्मन क्लब बोरुसिया डर्टमन्डबाट म्यानचेस्टर सिटी भित्रिएका थिए ।

नर्वेका फरवार्ड हाल्यान्डले सबै प्रतियोगितामा गरि सिटीका लागि डेब्यु सिजनमा ५२ गोल गरेका थिए । हाल्यान्डको उत्कृष्ट प्रदर्शनप्रेरित सिटीले ट्रेबल उपाधि (प्रिमियर लिग, एफ ए कप र च्याम्पियन्स लिग) जितेको थियो ।

यस्तै युवा वर्ष खेलाडीको अवार्ड १४ गोलका साथै ११ गोलको अवसर सिर्जना गरेका आर्सनलका बुकायो साकाले प्राप्त गरे ।

साकाले आर्सनलकै गाब्रियल मार्टिनेली, एर्लिङ हाल्यान्ड, ब्राइटनका मोइसेस काइसेडो र इभान फर्ग्युसन तथा एस्टन भिल्लाका ज्याकब रामसेलाई पछि पारे ।

यसैगरी महिलातर्फ एस्टन भिल्लाकी राचेल डेली वर्ष खेलाडी घोषित भइन् । उनले म्यानचेस्टर युनाइटेडकी ओना ब्याट्ले, चेल्सीका साम केर र गुरो रिटेन, आर्सनलकी फ्रिडा मानुम र म्यानचेस्टर सिटीकी खादिजा शालाई पछि पारेकी छन् ।

यसैगरी एस्टन भिल्लाकी लोरा ब्लाइन्डकिल्ड, म्यानचेस्टर सिटीकी, लरेन हेम्प, लिभरपुलकी मिसी बो केर्न्स, म्यानचेस्टर युनाइटेकी माया ले टिसियर र ब्राइटनकी केटी रोबिन्सनलाई पछि पार्दै  चेल्सीकी लरेन जेम्स वर्ष युवा खेलाडी चिनिइन् ।