फिफा

श्रीलंकामाथि फिफाले लगाएको प्रतिबन्ध फुकुवा

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले श्रीलंका फुटबल संघमाथि लगाएको प्रतिबन्ध हटाएको छ ।

फिफा महासचिव फातिमा सामोउराले सोमबार श्रीलंका फुटबल संघलाई पत्र लेख्दै प्रतिबन्ध हटाएको जानकारी गराएकी हुन् ।

फिफा, एएफसी र देशको खेलकुद मन्त्रालयको निर्देशनलाई अवज्ञा गर्दै आवधिक निर्वाचन गर्न नसकेको र संस्थालाई गति दिन नसकेका भन्दै फिफाले जनवरी २१ मा श्रीलंकालाई प्रतिबन्ध लगाएको थियो । 

फिफाको ब्युरो काउन्सिलले निलम्बन फुकुवा गर्ने निर्णय गरेको भन्दै त्यसका लागि श्रीलंका फुटबलले विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने जनाएको छ ।

श्रीलंका फुटबल संघको २०२३ जनवरी १४ मा भएको चुनावलाई फिफा र एएफसीले मान्यता नदिएको भन्दै फिफाले पठाएको पत्रमा नयाँ विधान अनुसार चुनाव गर्नुपर्ने उल्लेख छ ।

फिफाको प्रस्ताव अनुसार २०२३ सेप्टेम्बर १६ मा श्रीलंका फुटबल संघको निर्वाचन गर्ने तयारी छ ।