अल हिलाल

बोनोउ अल हिलालमा अनुबन्ध

काठमाडौं । साउदी प्रो-लिगको क्लब अल हिलालले मोरक्कन गोलकिपर यासिन बोनोउ अनुबन्ध गरेको छ ।

अल हिलालले स्पेनिस क्लब सेभियाबाट बोनोउलाई २१ मिलियन युरोमा अनुबन्ध गरेको हो । अल हिलाल र बोनोउबीच तीन वर्षको सम्झौता भएको छ ।

कतार विश्वकप २०२२ मा मोरक्कोलाई सेमिफाइनलसम्म पुर्याउन बोनोउले महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।

सन् २०२० मा स्पेनिस क्लब जिरोनाबाट लानेमा भित्रिएका बोनोउलाई सेभियाले सोही वर्ष स्थायी खेलाडी बनाएको थियो । बोनोउले सेभियाका लागि ९६ स्पेनिस ला लिगा खेल खेल्दा एक गोल गरेका छन् ।

बोनोउ यो सिजन अल हिलाल भित्रिने पाँचौं खेलाडी हुन्। क्लबले यसअघि नेयमार, रुवेन नेभेस, कालिडो काउलीबाली र माल्कोमलाई अनुबन्ध गरेकाे थियाे ।

यसैगरी अल हिलाल इङ्लिस प्रिमियर लिगको क्लब फुलहमबाट सर्वियन स्ट्राइकर एलेक्जेन्डर मित्रोभिचलाई पनि भित्र्याउने प्रयासमा छ ।