नेपाली फुटबल

च्याम्पियन टोली आज फर्किदै

काठमाडौं । बंगलादेशविरुद्धको दुई मैत्रीपूर्ण शृंखला जितेको नेपाली राष्ट्रिय महिला फुटबल टोली आज (सोमबार) स्वदेश फर्कदैछ । नेपाली टिम १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झर्ने कार्यक्रम छ ।

आइतबार भएको दोस्रो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा पुगेपछि नेपाल पेनाल्टी सुटआउटमा ४–२ ले विजयी भएको थियो । जितसँगै नेपालले २ खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण शृंखला १–० ले आफ्नो पक्षमा पारेको हो । पहिलो मैत्रीपूर्ण खेल १–१ को बराबरीमा सकिएको थियो ।

पेनाल्टी सुटआउटमा वैकल्पिक गोलकिपर अन्जना रानामगरले दुई पेनाल्टी बचाएपछि नेपालले जित निकालेको हो ।

ढाकाको कमलपुरस्थित वीरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल रंगशालामा सावित्रा भण्डारी, हीराकुमारी भुजेल, दिपा शाही र अनिता केसीले गोल गरेका थिए । गोलकिपर अन्जनाको प्रहार भने पोलमा लागेर फर्किएको थियो ।

बंगालदेशका लागि शम्सुन्नहार र मोनिका चक्माले गोल गर्दा शेइली अजिम र मारिया मान्डाको दुबै प्रहार अन्जनाले बचाएकी थिइन् ।

नेपालले चीनमा असोज दुईबाट हुने एसियाली खेलकुदको तयारी स्वरुप बंगादेशसँग २ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलेको हो । प्रशिक्षक थापाले दुई मैत्रीपूर्ण खेलबाट टोलीले राम्रो अनुभव बटुलेको र एसियन गेम्समा राम्रो प्रदर्शन गर्न मद्धत पुग्ने प्रतिक्रिया दिएका छन् ।