बायर्न म्युनिख

केन बायर्न आउनेमा होनेस विश्वस्त

काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखका मानार्थ अध्यक्ष उली होनेसले इङ्लिस फरवार्ड ह्यारी केन क्लबमा अनुबन्ध हुनेमा विश्वस्त रहेका बताएका छन् ।

‘केनले स्पष्ट रूपमा टोटनहम छाड्ने संकेत गरिसकेका छन् । उनी हाम्रो प्रस्तावप्रति आकर्षित पनि छन्,’होनेसले भने,‘ केनले आफ्नो वचन पूरा गरेमा उनी अर्को सिजन बायर्नको जर्सीमा हुनेछन् ।’

टोटनहम र केनबीचको सम्झौता अर्को वर्ष सकिँदैछ । केन अनुबन्धका लागि स्पेनको रियाल मड्रिड र फ्रान्सको पेरिस सेन्ट जर्मन (पिएसजी) ले पनि चासो देखाइरहेका छन् ।

होनेसले केनको चाहना ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने रहेकाले यो उनका लागि शीर्ष क्लब जाने सुनौलो अवसर रहेको बताए ।

‘ केन अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता खेल्न चाहन्छन् । हाम्रा लागि यो राम्रो संकेत हो किनकी अर्को सिजन टोटनहम कुनै अन्तर्राष्ट्रिय प्रतियोगितामा देखिने छैन,’ होनेसले थपे,‘ उनीसामू युरोपको शीर्ष क्लबमा अनुबन्ध हुने सुनौलो अवसर छ ।’