काठमाडौं । वैकल्पिक गोलकिपर अन्जना राना मगरले २ पेनाल्टी बचाएपछि घरेलु टोली बंगलादेशविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ ।
ढाकाको कमलपुरस्थित वीरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल रंगशालामा आइतबार नेपालले पेनाल्टी सुटआउटमा ४-२ को जित निकालेको हो ।
निर्धारित सममयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।
पेनाल्टी सुटआउटमा नेपालका लागि सावित्रा भण्डारी, हीराकुमारी भुजेल, दिपा शाही र अनिता केसीले गोल गरे । अन्जनाको प्रहार भने पोलमा लागेर फर्किएको थियो ।
बंगालदेशका लागि शम्सुन्नहार र मोनिका चक्माले गोल गर्दा शेइली अजिम र मारिया मान्डा चुके । दुवैको प्रहार अन्जनाले रोकेकी थिइन् ।
जितसँगै नेपालले २ खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण शृंखला १-० ले आफ्नो पक्षमा पारेको छ । पहिलो मैत्रीपूर्ण खेल १-१ को बराबरीमा सकिएको थियो ।
नेपालले चीनमा हुने एसियाली खेलकुदको तयारी स्वरुप बंगादेशसँग २ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलेको हाे ।