एफए कप

सिटी एफए कप च्याम्पियन

काठमाडौं । सहरी प्रतिद्धन्द्धी म्यानचेस्टर युनाइटेडलाई २-१ ले पराजित गर्दै म्यानचेस्टर सिटी एफए कपको च्याम्पियन बनेको छ ।

वेम्बली स्टेडियममा शनिबार सम्पन्न फाइनलमा सिटीलाई जित दिलाउन दुवै गोल कप्तान इल्के गुन्डोगनले गरे । युनाइटेडका लागि कप्तान ब्रुनो फर्नान्डेसले एक गोल फर्काए ।

खेलको पहिलो मिनेटमै गुन्डोगनको गोलमार्फत सिटीले अग्रता लिएको थियो । गुन्डोगनले केभिन डि ब्रुयनाको पासलाई सदुपयोग गरेका थिए ।

३३औं मिनेटमा फर्नान्डेजले पेनाल्टीमार्फत गोल गर्दै युनाइटेडलाई बराबरीमा ल्याए । ज्याक ग्रिलिसले पेनाल्टी बक्स भित्र ह्यान्ड गरेपछि युनाइटेडले पेनाल्टीको अवसर पाएको थियो ।

५१औं मिनेटमा गुन्डोगनले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २–१ को रोमाञ्चक जित निकाल्यो ।  यसपटक पनि गुन्डोगनले ब्रुयनाकै पासलाई पोस्टको दिशा दिएका थिए ।

सिटी सातौं पटक एफए कप च्याम्पियन बनेको हो । सिटीले पछिल्लो पटक  सन्  २०१८ १९ को सिजनमा च्याम्पियन बनेको थियो ।

यससँगै प्रिमियर लिग च्याम्पियन सिटीले ‘ट्रेबल’ जित्ने सम्भावनालाई जिवितै राखेको छ । १० जुनमा च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलानलाई हराउन सके ‘ट्रेबल’ जित्ने दोस्रो इङ्लिस क्लब बन्नेछ ।

यसअघि युनाइटेडले १९९९ मा ‘ट्रेबल’ जितेको थियो । युनाइटेड यो उपलब्धि हात पार्ने एक मात्र इङ्लिस क्लब हो ।