भिक्टर ओसिमहेन

ओसिमहेन भित्र्याउने न्युक्यासलको इन्छा

काठमाडौं । इङ्लिस प्रिमियर लिगको क्लब न्युक्यासल युनाइटेडले नाइजेरियन स्ट्राइकर भिक्टर ओसिमहेन भित्र्याउने इच्छा देखाएको छ ।

मिररका अनुसार न्युक्यासल आगामी जुलाई ट्रान्सफर विन्डोमा इटालियन सिरी ‘ए’ क्लब नेपोलीबाट ओसिमहेन भित्र्याउन चाहन्छ ।

आगामी सिजनको च्याम्पियन्स लिगका लागि छनोट भएको न्युक्यासल आफ्नो अग्रपंक्तीलाई बलियो बनाउन चाहन्छ । न्युक्यासलले ओसिमहेनका लागि एक सय मिलियन युरोको प्रस्ताव अगाडी बढाउने तयारी गरेको बताइएको छ ।

सन् २०२० मा फ्रेन्च क्लब लिलबाट नेपोली भित्रिएका ओसिमहेनले ८२ सिरी ‘ए’ खेलमा ४९ गोल गरेका छन् । ओसिमहेनकै उच्च प्रदर्शनप्रेरित नोपोली यस सिजन सन् १९८९र ९० पछि पहिलो पटक लिग च्याम्पियन बनेको थियो ।

ओसिमहेन अनुबन्धका लागि प्रिमियर लिगकै म्यानचेस्टर युनाइटेडले पनि चासो देखाइरहेको छ ।