इङ्लिस प्रिमियर लिग

ट्रेबलका लागि हर सम्भव प्रयास गर्नेछुः हाल्यान्ड

काठमाडौं । इङ्लिस क्लब म्यानचेस्टर सिटीका स्ट्राइकर एर्लिङ हाल्यान्डले क्लबलाई ऐतिहासिक ट्रेबल जिताउनका लागि आफ्नोतर्फबाट हर सम्भव प्रयास गर्ने बताएका छन् । बताएका छन्।

प्रिमियर लिग च्याम्पियन सिटी शनिबार एफए कपको फाइनलमा म्यानचेस्टर युनाइटेड तथा १० जुनमा च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलानलाई हराउन सके ट्रेबल जित्ने दोस्रो इङ्लिस क्लब बन्नेछ ।

यसअघि युनाइटेडले १९९९ मा ट्रेबल जितेको थियो । युनाइटेड यो उपलब्धि हात पार्ने एक मात्र इङ्लिस क्लब हो ।

घरेलु लिगमा वर्चस्वको बाबजुत सिटीले च्याम्पियन्स लिग जित्न सकेको छैन र हाल्यान्ड आफू युरोपेली फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा सफलता हासिल गर्ने टोलीको हिस्सा बन्नेमा आशावादी छन् ।

‘च्याम्पियन्स लिगकै लागि सिटीले मलाई अनुबन्ध गरेको थियो,’ हाल्यान्डले भने,‘ यसले धेरै अर्थ राख्छ। म यसलाई पूरा गर्न हर सम्भव प्रयास गर्नेछु। यो मेरो सबैभन्दा ठूलो सपना हो र आशा छ सपनाहरू साकार हुनेछन्। तर यो सजिलो छैन । हामी दुई उत्कृष्ट टोलीवरुद्ध दुई फाइनल खेल्दैछौं । उनीहरु पनि हामीलाई हराउन हर सम्भव प्रयास गर्नेछन् ।’