काठमाडौं । मोसेस ग्याबाले दोस्रो हाफमा गरेको गोल निर्णायक बन्दा विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा न्युरोड टिम (एनआरटी) माथि १-० को कठिन जित निकालेको छ ।
जितसँगै २३ खेलमा ३४ अकंका साथ पुलिस चौथो स्थानमा कायम छ । पराजय ब्यहोरेको एनआरटी २३ खेलमा २९ अंकका साथ नवौं स्थानमा छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न खेलमा मोसेसले खेलको ७९ औं मिनेटमा रवी पासवानको क्रसलाई हेडमार्फत पोस्टको दिशा दिएका थिए ।
दुवै टोलीले पाएका केही अवसरलाई भने सदुपयोग गर्न सकेनन् ।
२०औं मिनेटमा कृतिशरत्न छुन्जुको प्रहारलाई पुलिसका गोलकिपर शत्रुधन चौधरीले बचाए। ३०औं मिनेटमा निकोलस सङ्गको प्रहार पोस्ट नजिकैबाट बाहिरिँदा एनआरटीले अग्रता लिने सुनौलो अवसर गुमायो ।
८९औं मिनेटमा सौजन राईको कर्नरमा अन्जन राईको हेडर बारमा लागेर बाहिरिँदा पुलिसले अग्रता दोब्बर बनाउन सकेन ।
इज्जुरी समयमा कप्तान विक्रम धिमालले दोहोरो पहेँलो कार्ड ब्यहोर्दै मैदान छाडेपछि एनआरटी १० खेलाडीमा समेटियो ।
पुलिस लिगमा एनआरटीविरुद्ध अपराजित रह्यो । यी दुईबीचको पहिलो भेट १-१ को बराबरीमा सकिएको थियो ।
यसैगरी च्यासल मैदानमा बिहीबार नै सम्पन्न खेलमा फ्रेन्ड्स क्लब र हिमालयन शेर्पा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।