सहिद स्मारक ‘ए’ डिभिजन लिग

अग्रता जोगाउन नसक्दा मनाङसँग बराबरीमा रोकियो जावलाखेल

काठमाडौं । दुई गोलको अग्रता जोगाउन नसक्दा जावलाखेल युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबविरुद्ध २-२ को बराबरीमा रोकिएको छ ।

यस बराबरीसँगै जावलाखेलले शीर्ष स्थानमा स्पष्ट तीन अंकको अग्रता लिने अवसर गुमाएको छ । जावलाखेलको १८ खेलमा ३१ अंक छ । यो एक खेल कम खेल्दै दोस्रो स्थानमा रहेको चर्च ब्वाइज युनाइटेडको भन्दा मात्र एक अंक बढी हो ।

मनाङ १८ खेलमा २२ अंकका साथ सातौं स्थानमा उक्लिएको छ । 

च्यासल मैदानमा आइतबार सम्पन्न खेलमा जावलाखेलका लागि एनकोटो मासोबी र हिसुब थपलिया तथा मनाङका लागि विशोन गुरुङ र सुमित श्रेष्ठले समान एक गोल गरे ।  

खेलको ३४औं मिनेटमा मासोबीले जावलाखेललाई अग्रता दिलाएका थिए । मासेबीले विनोद केसीको थ्रु बललाई नियन्त्रणमा लिँदै मनाङका गोलकिपर दीप कार्कीलाई  बिट गर्दै पोस्टको दिशा दिएका थिए ।

७५औं मिनेटमा हिसुबले जावलाखेलको अग्रता दोब्बर बनाए । हिसुबले फोडे फोफनाको पासलाई सदुपयोग गरे ।

४१औं मिनेटमा विसोनले गोल गर्दै खेललाई २-१ को स्थितीमा ल्याए । विसोनले कोफी टिमोथी कोडुको पासलाई सदुपयोग गरेका थिए ।

इन्जुरी समयमा कमल थापाको क्रसलाई गोलमा परिणत गर्दै सुमित श्रेष्ठले खेललाई २-२ को बराबरीमा ल्याए ।

बल पोजिसनमा अगाडी देखिएको मनाङले पाएका केही अवसरलाई भने सदुपयोग गर्न सकेन ।

१९औं मिनेटमा साहिदजमोलको फ्रिकिकलाई जावलाखेलका गोलकिपर अनिश देउलाले बचाए ।  

६१औं मिनेटमा रन्दिप पौडेलको क्रसमा निराजान धामीको प्रहारलाई गोलकिपर अनिशले उत्कृष्ट बचाउ गरे ।  दुई मिनेट पछि  निराजनकै हेडर पोस्ट नजिकैबाट बाहिरियो ।

६९औं मिनेटमा विसोनको कर्नरमा काेडुको हेडरमा गोलकिपर अनिश नै बाधक बने ।

लिगमा मनाङविरुद्ध सातदोबाटो अपराजित रह्यो । पहिलो लेगमा जावलाखेल ३-० ले विजयी भएको थियो ।