आइडब्लुएल

किकस्टार्टको लगातार तेस्रो जित

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर सुरु लिम्बु र रेनुका नगरकोटे सम्मिलित किकस्टार्ट एफसीले इन्डियन वुमन्स लिगमा (आइडब्लुएल) मा लगतार तेस्रो जित निकालेको छ ।

किकले शुक्रबार सम्पन्न खेलमा नेपाली राष्ट्रिय टोलीकी मिडफिल्डर अनिता बस्नेत आबद्ध लर्ड्स एफएमाथि ४-१ जित निकालेको हो । 

किकलाई जित दिलाउन सरु, किओको एलिजाबेथ कटुङ्गवा, लैशराम बिबिचा देवी र सोनिया मराकले समान १ गोल गरे । लर्ड्सका लागि क्याथरिन रोड्रिगेजले १ गोल फर्काइन् ।

खेलको चौथो मिनेटमा कटुङ्गवाको गोलमार्फत किकले अग्रता लिएको थियो । २६औं मिनेटमा देवीले टोलीको अग्रता दोब्बर बनाइन् ।

३४औं मिनेटमा रोड्रिगेजले गोल गरेपछि खेल २-१ को स्थितीमा आयो । ३९औं मिनेटमा सुरुले गोल गर्दा किक ३-१ ले अघि बढ्यो ।

६६औं मिनेटमा मराकले गोल गर्दै किकलाई ४-१ को सहज जित दिलाइन् ।

 जितसँगै समूह ‘बी’को किक ४ खेलमा ९ अंकका साथ तेस्रो स्थानमा छ । पराजय ब्यहोरेको लर्ड्स समान खेलबाट ३ अंक जोडेर छैटौं स्थानमा छ ।

सरुले ९० मिनेट नै खेल्दा रेनुका ६७ औं मिनेटमा मैदान प्रवेश गरेकी थिइन् । अनिताले भने खेल्न अवसर पाइनन् ।

अब आइतबार किकले सेल्टिक क्विन्स एफसीको सामना गर्दा लर्ड्सले ओडिसा एफसीसँग खेल्नेछ ।