थ्री नेसन्स कप

प्रधानमन्त्री थ्री नेसन्स कपः धन्न जोगियो नेपालको इज्जत

काठमाठौं । वैकल्पिक खेलाडी दीपकराज सिंह ठकुरीले अन्तिम समयमा गोल गरेपछि नेपालले भुटानविरुद्ध आफ्नो इज्जत मुस्किलले जोगाएको छ । 

प्रधानमन्त्री थ्री नेसन्स कपको दोस्रो खेलमा नेपाललाई कडा टक्कर दिएको भुटान अन्तिम समयमा सम्हालिन नसक्दा १-१ को बराबरीमा रोकिएको हो ।   

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार सम्पन्न खेलको १९ औं मिनेटमा तेन्जिन नोर्बुले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए । नोर्बुले दावा छिरिङको कर्नरमा  हेडरमार्फत उत्कृष्ट गोल गरेका थिए ।

खेलको ९० औं मिनेटमा दीपकले गोल गर्दै नेपाललाई बराबरीमा ल्याएका थिए । दीपकले निशान खड्काको कर्नर क्रसमा अनन्त तामाङबाट आएको हेडरमा  हेडरमार्फत नै गोल गरेका थिए ।  दिपकको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो ।

योसँगै भुटानविरुद्ध नेपालको विजयी यात्रामा पनि पुर्णविराम लागेको छ । नेपालले यसअघिका १२ वटै खेलमा जित निकालेको थियो ।

२९ औं मिनेटमा पुजन उपरकोटीले ३० यार्ड टाढाबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन । 

पहिलो हाफको अन्ति मिनेटमा नेपालले बराबरी गर्ने अवसर गुमायो । कर्नरमा रिबाउन्ड आएको बललाई पुजनले हेडरमा सनिश श्रेष्ठको अन्तिम हेडर पोस्टभन्दा थोरै माथिबाट बाहिरिएको थियो ।  

दोस्रो हाफको सुरुवाती ४० सेकेन्ड्स भित्रै हेडिङ गर्ने क्रममा अन्जन भुटानी गोलकिपर छिरिङ डेन्डुपसँग जुध्न पुगेका थिए । ६ मिनेटपछि अञ्जनको ठाउँमा दीपक मैदान प्रवेश गरेका थिए ।

 ७७ औं मिनेटमा मनिष डांगीले दोस्रो बारमा गरेको प्रहारले पोस्टको दिशा लिन सकेन । त्यस्तै इन्जुरी समयमा मनिषको पासमा दीपकको सुन्दर गोललाई अफसाइड दिइएको थियो ।

यस बराबरीसँगै दुई खेलमा चार अंक जोडेको नेपाल शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको छ । भुटान दुई खेलमा एक अंक जोड्दै तेस्रो स्थानमा रह्यो ।

अब नेपालले शुक्रबार हुने फाइनलमा लाओसको सामना गर्नेछ । लाओस दुई खेलमा तीन अंक जोडेर दोस्रो स्थानमा रहँदै फाइनल पुगेको हो ।