नेपाली फुटबल

सुजल र रेजिन अस्ट्रेलिया जाँदै

फाइल फोटो

काठमाडौं । राष्ट्रिय पुरुष फुटबल टोलीका पूर्व कप्तान सुजल श्रेष्ठ तथा सदस्य रेजिन धिमाल सुरक्षित भविष्यको खोजीमा अस्ट्रेलिया प्रस्थान गर्ने भएका छन् ।

उनीहरु बिहीबार राति १२ः३० बजे मलेसियन एयरवेजमार्फत मलेसियाको राजधानी क्वालालमपुर हुँदै अस्ट्रेलियाको सिड्नी जान लागेका हुन् ।

दुवैले मछिन्द्र फुटबल क्लबबाट शीर्ष डिभिजनको लिग खेल्दै आएका थिए । सुजल मछिन्द्रको पनि कप्तान हुन् ।

विंगर सुजलले सन् २०११ मा भुटानविरुद्धको मैत्रीपूर्णमार्फत नेपालको सिनियर टोलीबाट अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए । सुजलले नेपालका लागि ४५ खेलमा तीन गोल गरेका छन् । सुजलले अन्तिम खेल सन् २०२२ मा पाकिस्तानविरुद्ध खेलेका थिए । 

सुजलले सन् २०११ मा टिमोर लिस्टे, सन् २०१६ मा मकाउ र सन् २०२२ मा मोरिससविरुद्ध गोल गरेका थिए । उनले सन् २०१७ नोभेम्बर ७ मा म्यानमारविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालको कप्तानी गरेका थिए ।  

सन् २०१४  मा फिलिपिन्सविरुद्धको मैत्रीपूर्ण खेलमार्फत नेपाली सिनियर टोलीका लागि अन्तर्राष्ट्रिय डेब्यु गरेका रक्षक रेजिनले देशका लागि १० खेल खेलेका छन् ।