थ्री नेसन्स कप

नेपालको अन्तिम टोली घोषणा

काठमाडौं । प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिता खेल्ने नेपालको अन्तिम टोली घोषणा भएको छ ।

नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनासीलले मंगलबार २३ सदस्सीय अन्तिम टोली घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

एनासीले अभिषेक बराल, सनिश श्रेष्ठ, पदम भट्टराई, मणिकुमार लामा, सुमित श्रेष्ठ र दीपकराज सिंह ठकुरीलाई पहिलो पटक राष्ट्रिय टोलीमा समावेश गराएका छन् ।  

यसअघि मनाङ मर्स्याङ क्लबका रक्षक रन्दीप पौडेललाई टोलीमा बोलाइएको भए पनि उनी अन्तिम २३ मा भने अटाएनन् ।  

नवीन लामा यसअघि सन् २०१५ मा बंगदेशविरुद्धको मैत्रीवपूर्ण खेलमा टोलीमा रहे पनि खेल्ने अवसर भने पाएका थिएनन् । 

प्रतियोगिता चैत आठ देखि १७ गतेसम्म त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुँदैछ । प्रतियोगितामा नेपाल, भुटान र लाओसले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताका लागि भुटान र लाओसको टोली सोमबार नेपाल आइसकेका छन् ।

सिंगल राउन्ड रोविन पद्धतीमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले पाँच हजार अमेरिकी डलर, दोस्रोले तीन हजार डलर पाउने एन्फाले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले पाँच सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले दुई सय ५० डलर पाउने छन् ।

प्रतियोगिताको पुरस्कार राशी राष्ट्रिय खेलकुद परिषद (राखेप) ले उपलब्ध गराउने छ ।

नेपालले चैत आठमा लाओस तथा चैत १४ मा भुटानको सामना गर्नेछ । चैत ११ गते भुटान र लाओस भिड्ने छन् ।

प्रतियोगितका लागि टिकट दर सामान्य प्यारापिटतर्फ पाँच सय र भिआइपीतर्फ एक हजार राखिएको छ ।

यसअघि नेपालले २०७७ सालमा बंगालदेश र किर्गिस्तानलाई समेट्दै थ्री नेसन्स कपको आयोजना गरेको थियो । फाइनलमा बंगलादेशलाई हराउँदै नेपाल च्याम्पियन बनेको थियो ।
नेपाली टोलीः 
गोलकिपरः अभिषेक बराल, दीप कार्की, किरण चेम्जोङ
रक्षकः पदम भट्टराई, आदित्य चौधरी, अनन्त तामाङ, विकास तामाङ, रोहित चन्द, निशान खड्का, सनिस श्रेष्ठ
मिडफिल्डरः सुमित श्रेष्ठ, मणिकुमार लामा, नविन लामा, पुजन उपरकोटी, आयुष घलान, एरिक विष्ट, कमल थापा 
स्ट्राइकरः दीपकराज सिंह ठकुरी, आशिष चौधरी, नवयुग श्रेष्ठ, अन्जन विष्ट, भरत खवास, मनिष डाँगी