पिएसजी

पिएसजी घरमै स्तब्ध

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पिएसजी) सिजनकै पहिलो पटक घरेलु मैदानमा पराजित भएको छ । आइतबार राति पिएसजी स्टेड रेनसँग २–० ले पराजित भयो ।

हारसँगै पिएसजी शीर्षस्थानमा यथावत छ । उसको २८ खेलमा २१ जितसहित ६६ अंक छ । दोस्रो स्थानको मार्सलीको ५९अंक रहँदा रेन समान खेलबाट ५० अंकसहित पाँचौ स्थानमा छ ।

रेनविरुद्ध स्टार खेलाडी लियोनल मेसी र केलियन एम्बाप्पे खेलपनि उनीहरु प्रभावकारी रहेनन् । पिएसजी यसपटक च्याम्पियन्स लिगबाट बाहिरिसकेको छ । बायर्न म्युनिखसँग पराजित भएको थियो । फ्रेन्च लिगबाट समेत पिएसजी बाहिरिसकेको छ ।

अब, पिएसजी लिग उपाधिको लागि मात्रै प्रतिस्पर्धामा छ । तर, आइतबारको प्रदर्शनले पिएसजीलाई झनै दवाव सृजना गर्न सक्छ । प्रशिक्षक क्रिस्टोफर गाल्टियरको टोली सन्तुलित छैन ।

रेनको जितमा कार्ल टोको इकाम्बीले ४५औं मिनेटमा गोल गरे । ४८औं मिनेटमा अर्नाउन्ड कालीमुइन्डोले दोस्रो गोल गरेका थिए । खेलपछि गाल्टियरले धेरै दुखी भएको र यो नतिजा स्विकारोक्ति नभएको प्रतिक्रिया दिएका छन् ।

‘हामी निकै दुखी छौं, हामी यो कल्पना नै गर्न सक्दैनौं,’ उनले भने । ‘क्लब यो नतिजाको लागि योग्य हैन । यो पर्याप्त पनि छैन । हामी अर्काे खेलमा राम्रो गर्न सक्छौं ।’