चन्द्रपुर मेयर गोल्डकप

वीरगञ्ज चन्द्रपुर मेयर गोल्डकपको च्याम्पियन

काठमाडौं । महोत्तरीको बेङ्खडी युवा क्लबलाई फाइनलमा ३-० ले पराजित गर्दै पर्साको वीरगञ्ज युनाइटेड चन्द्रपुर मेयर गोल्डकप-२०७९ को च्याम्पियन बनेको छ ।

रौतहटको चन्द्रपुरस्थित तुलसीलाल अमात्य स्मृति रंगशालामा सम्पन्न फाइनलमा वीरगञ्जलाई च्याम्पियन बनाउन कृपा चौधरीले दुई तथा विवेक चौधरीले एक गोल गरे ।

खेलको ३१औं मिनेटमा कृपाको गोलबाट विरगञ्जले अग्रता लिएकाे थियो । ६३औं मिनेटमा विवेकले वीरगञ्जको अग्रता दोब्बर पारे । खेलको निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा कृपाले ब्यक्तिगत दोस्रो गाेल गर्दै टाेलीलाई ३-० काे सहज जित दिलाए ।

उपाधिसँगै वीरगञ्जले दुई लाख रुपैयाँ र ट्रफी प्राप्त गर्यो ।उपविजेतामा चित्त बुझाएको बेङ्खडीले एक लाख रुपैयाँ पायाे ।

प्रतियोगितामा विरगञ्जका प्रमिजय गच्छदार उत्कृष्ट गोलकिपर चुनिए । यस्तै, वीरगञ्जकै शिषस थापा उत्कृष्ट रक्षक, अनिश चौधरी उत्कृष्ट मिडफिल्डर, कृपा चौधरी उत्कृष्ट फरवार्ड र सुलभ जंगराना उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरु सबैले समान १० हजार रुपैयाँ प्राप्त गरे । 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भने बेङ्खडीका नीरबहादुर आले चुनिए । उनले २५ हजार रुपैयाँ प्राप्त गरे ।

चन्द्रपुर नगरपालिकाको सहयोगमा रौतहट जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा आठ टोलीको सहभागिता थियो ।