आयुष घलानको गोललाई अफसाइड दिइएपछि संकटाले जारी ‘ए’ डिभिजन लिगमा तेस्रो पटक गोलरहित बराबरी खेलेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार उपाधिको दावेदारका रुपमा हेरिएको संकटा, हिमालयन शेर्पासँग गोलरहित बराबरीमा रोकिएको हो ।
दोस्रो हाफको तेस्रो मिनेटमा निशान खड्काको प्रहारलाई हिमालयन शेर्पाका गोलकिपर बिवश चौधरीले बचाउन खोज्दा नियन्त्रण गुमाएका थिए । त्यसको फाइदा उठाउँदै जुनियर एन्केन्गुले रिबाउन्ड बल, आयुषलाई क्रस गरिदिए । आयुषले वान टचमा त्यसलाई गोलमा परिणत गरे । तर, अफसाइड भएका कारण गोलले मान्यता पाएन ।
यसबीच खेलमा दुवै टोलीले केही अवसरहरु सृजना गरे । तर, गोल भने गर्न सकेनन् ।
२५ औं मिनेटमा आयुषको प्रहार बिवशले बचाएका थिए । त्यस्तै पहिलो हाफ सकिन दुई मिनेट बाकी छँदा हिमालयन शेर्पाका निशान लिम्बुको प्रहार संकटा गोलकिपर विष्णु कुमार केसीले रोके ।
खेलमा हिमालयन रक्षक म्यानुवेल नाना अग्योमांग म्यान अफ दि म्याच चुनिए ।
बराबरीसँगै पाँच खेलमा ६ अंक जोड्दै संकटा सातौं स्थानमा उक्लिएको छ । समान खेलबाट पाँच अंक सहित हिमालयन शेर्पा १० औं स्थानमा छ ।
सातदोबाटोको चौंथो जित, खुमलटारको तेस्रो हार
१० खेलाडीमा झरेको सातदोबाटो युथ क्लबलाई अन्तिम १३ मिनेट र इन्जुरी समय, दबाबमा राखेपनि गोल गर्न नसक्दा खुमलटार एएफसीले जारी सहिद स्मारक ’ए’ डिभिजन लिगमा तेस्रो हार ब्यहोरेको छ ।
लिगमा सातदोबाटोको यो चौंथो जित हो । लिगमा सातदोबाटोको यो चौंथो जित हो । जितसँगै सातदोबाटो पाँच खेलमा १२ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट खुमलटार ६ अंकका साथ आठौं स्थानमा झरेको छ ।
बिहिबार (आज) च्यासलस्थित च्यासल मैदानमा सातदोबाटोको जितमा सार्दोर्बेक माट्मुराटोभ र दीपक राज सिंह ठकुरीले गोल गरे । दुवै गोल पहिलो हाफमा भएको थियो ।
खुमलटारका लागि एक मात्र गोल राजिभ लोप्चनले दोस्रो हाफमा गरेका थिए ।
खेल सुरु भएको १३ मिनेटमै विलियम ओपोकु एसियदुको क्रसमा माट्मुराटोभले सुन्दर हेडेड गोल गरेपछि सातदोबाटोले अग्रता लिएको थियो ।
त्यसको १२ मिनेटपछि सातदोबाटोले अग्रता दोब्बर बनायो । जारी लिगमा उच्च लयमा रहेका दीपकले अब्दुल लटिफको क्रसमा वान टचमा गोल गरे ।
दोस्रो हाफको ६४ औं मिनेटमा मेसोकेको क्रसमा बिनोङको हेडर पोस्टमा ठोक्किएको थियो । रिबाउन्ड बललाई राजिभले गोलमा परिणत गरेका थिए ।
यसबीच खेलमा दुवै टोलीले कयौं मौका सृजना गरेका थिए ।
खेल सुरु भएको २० सेकेन्ड्स भित्रै सातदोबाटोका उमेश राईको क्रसमा ओपोकुले गरेको हेडर बाहिरिएको थियो ।
अग्रता लिनुभन्दा केही सेकेन्ड्स अगाडी सातदोबाटोले सुन्दर अवसर गुमाएको थियो । ओपोकुको पासमा पासाङ लामाले गरेको शक्तिशाली प्रहार खुमलटारका जीवन गुरुङले क्लियर गरेका थिए ।
१५ औं मिनेटमा मेसोके ओलामाउको क्रसमा स्टेफेन बिनोङले गरेको हेडर बाहिरिँदा खुमलटार बराबरी गर्नबाट चुकेको थियो ।
२० औं मिनेटमा दीपकले डिबक्स भित्र सुनौलो अवसरमा पाएको थियो । तर उनको फितलो प्रहार खुमलटार गोलकिपर देव लिम्बुले बचाए ।
२९ औं मिनेटमा बिनोङको पासमा मनिष थापाले गरेको प्रहार बाहिरिँदा खुमलटारले गोलको मौका गुमायो ।
दोस्रो हाफको सुरुवाती १५ मिनेट भित्र गोलकिपर देवले माट्मुराटोभ र उमेशको प्रहार बचाए । पछि दोस्रो हाफको मध्यतिर देव घाइते हुँदै मैदान बाहिरिएका थिए । उनको स्थान राजकुमार लिम्बुले लिए ।
७२ औं मिनेटमा मनिस थापाको शक्तिशाली प्रहार सातदोबाटो गोलकिपर अभिषेक बरालले बचाएपछि खुमलटार बराबरी गर्नबाट चुक्यो ।
७७ औं मिनेटमा खुमलटारका रोशन डोङलाई ट्याकल गरेपछि माट्मुराटोभ दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिए । १० खेलाडीमा झरेपछि सातदोबाटो दबाबमा आएको थियो । तर खुमलटारले यसको फाइदा उठाउन सकेन ।
उत्कृष्ट प्रदर्शनसहित एक गोल गरेका दीपक म्यान अफ दि म्याच चुनिए ।
लिगमा शुक्रबार हुने खेलहरुः
थ्री स्टार क्लब भर्सेस जावलाखेल युथ क्लब (दिउँसो २ः३० बजे, एन्फा कम्प्लेक्स, सातदोबाटो)
चर्च ब्वाइज युनाइटेड क्लब भर्सेस मछिन्द्र क्लब (दिउँसो २ः३० बजे, च्यासल मैदान, च्यासल)