काठमाडौं । सन्दीप जोराको उत्कृष्ट ब्याटिङ तथा समिउल्लाह सिनवारीको उत्कृष्ट बलिङ प्रेरित जनकपुर रोयल्सले नेपाल टी–२० लिगमा पाँचौँ जित निकालेको छ ।
जनकपुरले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सोमबार सम्पन्न दोस्रो खेलमा फार वेस्ट युनाइटेडलाई ८२ रनले पराजित गरेको हो ।
यो जितसँगै सात खेलमा १० अंक जोडेको जनकपुर दोस्रो स्थानमा छ । जनकपुरले प्लेअफ सम्भावनालाई बलियो बनाएको छ ।
पराजय ब्यहोरेको फार वेस्ट ६ खेलमा दुई अंकका साथ अन्तिम स्थानमा छ । फार वेस्टको भने प्ले अफको सम्भावना कमजोर बनेको छ ।
जनकपुरले प्रस्तुत गरेको एक सय ६२ रनको लक्ष्य पछ्याएको फार वेस्ट १५.१ ओभरमा ७९ रनमै समेटियो ।
फर वेस्टका लागि कप्तान हस्मतुल्लाह साहिदीले ३२ बलमा दुई चौका र एक छक्कासहित सर्वाधिक ३२ रनको योगदान दिए । यसैगरी राशिद खानले अविजित १६ र भीम सार्कीले १६ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
जनकपुरका लागि सिनवारीले तीन, सोमपाल कामी र पवन सरार्फले समान दुई तथा सारफुद्दिन असरफ र ललितनारायण राजवंशीले समान एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ६१ रनको योगफल तयार पारेको थियो ।
जनकपुरका लागि सन्दीपले ३२ बलमा पाँच छक्का र एक चौका मद्दतमा सर्वाधिक ५५ रनको योगदान दिए ।
यसैगरी कप्तान ट्रेभोन ग्रिफिथ ३२,सराफुद्दिन असरफले २०,चाडविक वाल्टनले २४ र राजेश पुलामीले १६ रन जोडे ।
पहिलो विकेटका लागि ट्रेभोन र सराफुद्दिनले ५२ रनको साझेदारी गर्दै टोलीलाई राम्रो सुरुआत दिलाएका थिए । यसैगरी पाँचौँ विकेटका लागि सन्दीप र राजेशले ६१ रनको साझेदारी गरे ।
फार वेस्टका लागि प्रकाश जैसीले तीन,भुवन कार्कीले दुई तथा नुर अहमेदले एक विकेट लिए ।
सोमबार नै भएको पहिलो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं नाइट्सलाई पाँच विकेटले पराजित गरेको थियो ।