काठमाडौं । नेपालले जनवरी १८ (माघ ४ गते) मा थाइल्यान्डसँग खेल्दै आइसिसी महिला ट्वान्टी-२० विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा सुरुआत गर्ने भएको छ ।
मुलपानीका दुवै मैदानका साथै त्रिवी रंगशालामा जनवरी १४ देखि फेब्रुअरी १ सम्म हुने प्रतियोगितामा नेपाली महिला टिमले समूह 'बी' मा रहेर स्कट्ल्यान्ड, थाइल्यान्ड, जिम्बाब्वे र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।
समूह 'ए' मा बंगलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी (पिएनजी) नामिबिया र अमेरिका छन् ।
समूह चरणको पहिलो खेलमा थाइल्यान्डलाई मुलपानी माथिल्लो मैदानमा निम्त्याएपछि नेपालले दोस्रो खेलमा चार दिनपछि माघ ८ गते नेदरल्यान्डससँग प्रतिस्पर्धा गर्नेछ । नेपालको दोस्रो खेल पनि मुलपानीको माथिल्लो मैदानमै हुनेछ ।
तेस्रो खेलमा नेपालले त्रिवी मैदानमा माघ १० गते खेल्नेछ भने समूहको अन्तिम खेलमा माघ १२ गते स्कटल्यान्डसँग त्रिवी मैदानमै प्रतिस्पर्धा गर्नेछ ।
दुवै समूहबाट शीर्ष तीन टोली क्वालिफायरमा छनोट हुनेछन् । क्पालिफायरमा दुवै समूहबाट छानिएका तीनवटै टोलीले अर्को समूहा सबै तीन टिमसँग प्रतिस्पर्धा गर्नेछन् ।
क्वालिफायरका खेलहरु माघ १४, १६ र १८ गते हुनेछन् । क्वालिफायरबाट शीरष चार टोली सन् २०२६ जुन १२ देखि जुलाई ५ सम्म इङल्यान्ड र वेल्समा हुने आइसिसी महिला ट्वान्टी-२० विश्वकपलाई छानिनेछन् ।
ग्लोबल क्वालिफायरअघि प्रत्येक टिमले दुई/दुई अभ्यास खेल खल्नेछन् । अभ्यास खेलमा नेपालले पुष ३० गते मुलपानीको तल्लो मैदानमा आयरल्यान्ड तथा त्यसको दुई दिनपछि त्रिवी मैदानमा अमेरिककासँग खेल्नेछ ।
