काठमाडौं । स्पान्योलले सोमबार सुरुमा गोल खानाका बावजुद उत्कृष्ट पुनरागमन जनाउँदै स्पेनिस ला लिगाको खेलमा एथलेटिक बिल्बाओमाथि २–१ को जित हासिल गरेको छ ।
ला लिगामा यो स्पान्योलको लगातार पाँचौं जित हो । जसले टोलीलाई शीर्ष चारभन्दा दुई अंकको मात्र दुरीमा पुर्याएको छ ।
एकरुपको प्रदर्शनका लागि संघर्ष गरिरहेको एथलेटिकका समर्थकले सोमबार सान मामेजमा घरेलु जितको अपेक्षा गरेका थिए । खासगरि जनवरीमा ला लिगा, स्पेनिस सुपरकप र च्याम्पियन्स लिग गरि लगातार पाँच खेलको शृंखलाअघिको घरेलु खेलमा जित अपेक्षित थियो ।
त्यसअनुसार टोलीको सुरुआत पनि भएको थियो । एलेक्स बेरेनघोउरले मध्यान्तरभन्दा सात मिनेट अगाडि गोल गरेर एथलेटिकलाई घरेलु मैदानमा अग्रता दिलाएका थिए ।
तर उच्च फर्ममा रहेका स्पान्योलले मध्यान्तर हुन एक मिनेट बाँकी रहँदा खेल बराबरीमा ल्यायो । लामो दुरीबाट कार्लोस रोमेरोले प्रहार गरेको भली गोलमा परिणत भएपछि भ्रमणकारी टोलीले बराबरीका साथ पहिलो हाफ टुंग्याएको थियो ।
घरेलु समर्थकका लागि अझ नराम्रो समय दोस्रो हाफको सातौं मिनेटमा आयो । जहाँ पेरे मिल्लाले भ्रमणकारी स्पान्योलका लागि विजयी गोल गरे । म्यानचेस्टरमा। जन्मिएका टाइरिस डोलानको लो क्रसलाई मिल्लाले सहजै गोलमा परिणत गरेका थिए । ५२ औं मिनेटमा भएको उक्त गोल नै खेलको अन्तिम गोल बन्दा स्पान्योल तीन अंक एकतर्फी बनाउन सफल भयो ।
एथलेटिकका लागि यो निक्कै निराशाजनक नतिजा थियो । झण्डै दुई तिहाई बल पोसेसन राख्नाको साथै थुप्रै पटक विपक्षी पोष्टमा प्रहार गर्नाका बावजुद टोली कम्तिमा अंक बाढ्न समेत असफल भएको थियो ।
हारपछि टोली स्पेनिस ला लिगा अंकतालिकाको आठौं स्थानमा सीमित भएको छ । जुन पछिल्ला चार सिजनमा यो अवस्थामा एथलेटिकोको सबभन्दा खराब स्थिती हो । विजेता स्पान्योल भने चौथो स्थानको भियारियालभन्दा दुई अंकले पछि रहँदै पाँचौं स्थानमा छ ।
