काठमाडौं । अयुुब अल काबीको सनसनीपूर्ण बाइसाइकल किकले अफ्रिका कप अफ नेशन्सको उद्घाटन खेलमा आयोजक मोरक्कोलाई विजयी सुरुआत दिलाएको छ ।
आइतबार रावतमा सम्पन्न ३५औं अफ्रिका कप अफ नेशन्सको उद्घाटन खेलमा मोरक्कोले कोमोरोसमाथि २–० को जित हासिल गर्यो । खेलअघिदेखि नै मोरक्कोका युवराज मोउली हसनसहित ठूलो संख्याका घरेलु समर्थकबाट साथ पाएको टोलीलाई विश्व वरियताको १०८औं स्थानको कोमोरोसमाथि जित हासिल गर्न कठिन भएन ।
कोमोरोसका गोलकिपर यानिक पान्डरले सुरुमै मोरोक्कोका सौफियान रहिमीको पेनाल्टी जोगाएर टोलीको आशा जीवित राखेका थिए । तर ब्राहिम डियाजले ५५औं मिनेटमा गोल गर्दै मोरक्कोको खाता खोले । डियाजले नौसार माज्राउको पासलाई गोलमा परिणत गरेका थिए ।
अल काबीले समय सकिन १६ मिनेट बाँकी रहँदा दर्शनीय ओभरहेड किकमार्फत गोल गर्दै समूह ‘ए’ अन्तर्गतको खेलमा मोरक्कोको जित पक्का गरे । उनले अनास सालेह इडिनको पासलाई गोलमा परिणत गरेका थिए ।
प्रतियोगिताअन्तर्गत आज राति समूह ‘ए’ मा माली र जाम्बिया, समूह ‘बी’ मा दक्षिण अफ्रिका र एङ्गोला तथा इजिप्ट र जिम्बाब्वेबीच प्रतिस्पर्धा हुनेछ ।
