काठमाडौं । फियोरेन्टिनाले जारी सिजनको इटालियन सिरी ‘ए’मा पहिलो जित हासिल गर्ने क्रममा आइतबार राती १० जनामा सीमित भएर खेलको अन्त्य गरेको युडिनेसीलाई ५–१ को नतिजामा सिकार बनाएको छ ।
जारी सिजनका १६ खेलमा फियोरेन्टिनाको यो पहिलो जित हो । एकमात्र जित हासिल गरेको टोली ९ अंकका साथ अंकतालिकाको पुछारमा छ ।
माडुका ओकोयेले नवौं मिनेटमा प्रोफेसनल फाउलका लागि रातो कार्ड सामना गरेपछि युडिनेसीले बाँकी समय १० जनामा सीमित भएर खेलेको थियो ।
विपक्षी टोलीमा अधिकांश समय एक खेलाडी कम भएको फाइदा उठाउने क्रममा फियोरेन्टिनाले २१औं मिनेटमै अग्रता लियो । त्यसलाई मध्यान्तर हुन दुई मिनेट बाँकी रहँदा अल्बर्ट गडमन्डसनले दोब्बर पारे ।
पहिलो हाफको इन्ज्युरी समयमा चेर एनडोउरले फियोरेन्टिनाका लागि तेस्रो गोल गरे । पहिलो हाफमा ३–० को अग्रता लिइसकेको टोलीका लागि दोस्रो हाफमा मोसी किनले एक्लै दुई गोल थपे । उनले ५६र ६९औं मिनेटमा गोल गरेका थिए ।
पराजित युडिनेसीका लागि औमार सोलेटले ६६औं मिनेटमा गरेको एकमात्र गोल सान्त्वनामा सीमित भयो ।
इटालियन सिरी ‘ए’ अंकतालिकाको मध्यभागमा रहेका टोलीबीचको भिडन्तमा टोरिनोले सासौलोमाथि १–० को विजयी नतिजा निकाल्यो । टोरिनोको अवे जितमा निकोला भ्लासिकले ६६औं मिनेटमा प्राप्त पेनाल्टीलाई विजयी गोलमा परिणत गरेका थिए ।
यसैगरी एट्लान्टाले १० जनामा सीमित भएर पूरा समयजस्तो मैदानमा संघर्ष गरेको जिनुवामाथि १–० को जित हासिल गर्यो ।
जिनुवाका निकोला लियालीले तेस्रो मिनेटमा प्रोफेसनल फाउलका लागि रातो कार्ड सामना गरेपछि टोली १० खेलाडीमा सीमित भएको थियो । १० खेलाडीमा सीमित हुनाका बावजुद जिनुवा पूरा समय मैदानमा डटेर प्रस्तुत भएको थियो । तर इन्ज्युरी समयको चौथो मिनेटमा एट्लान्टाका इसाक हिइनले निकोला जेलेस्कीको पासमा गरेको गोल जितलाई पर्याप्त भयो ।
इटालियन सिरी ‘ए’मा आइतबारै सम्पन्न अर्को खेलमा काग्लियारी र पिसाले २–२ को बराबरी नतिजा निकाले ।
