काठमाडौं । जर्मन महारथी बायर्न म्युनिखले जारी सिजनको घरेलु बुन्डेसलिगामा अपराजित यात्रा कायम राख्ने क्रममा आइतबार राती होफेनहेइममाथि ४–० को जित हासिल गरेको छ ।
१५ खेलमा १३ औं जित हासिल गरेको टोली दोस्रो स्थानको बोरुसिया डर्टमण्डमाथिको अग्रता ९ अंकले फराकिलो पार्न सफल भएको छ । १३ जित र २ बराबरीका साथ १५ खेलमा बायर्नले ४१ अंक जोडेको छ भने डर्टमण्डले समान खेलमा ३२ अंक बटुलेको छ । बायर्नसँग पराजित होफेनहेइम चाँही २७ अंकका साथ पाँचौं स्थानमा छ ।
बायर्नलाई जित दिलाउन आइतबार जोसिप स्टानिसिकले १५औं मिनेटमा अग्रता दिलाएका थिए । माइकल ओलिसले ३२औं मिनेटमा त्यो अग्रतालाई दोब्बर पारे ।
दुवै हाफमा २–२ गोल गरेको बायर्नका लागि समय सकिनै लाग्दा लुइस डियाज र ह्यारी केनले गोल थपे । डियाजले समय सकिन चार मिनेट बाँकी रहँदा गोल गरेका थिए भने केनले इन्ज्युरी समयमा गोल गरेका थिए ।
जारी सिजनमा सबैखाले प्रतियोगितामा गरी बायर्नका लागि केनको यो २५औं खेलमा ३०औं गोल थियो । बुन्डेसलिगामा उनको यो १९औं गोल हो भने केनले च्याम्पियन्स लिग र जर्मन पोकालमा ५/५ तथा जर्मन सुपरकपमा एक गोल गरिसकेका छन् ।
आइतबारै सम्पन्न जर्मन बुन्डेसलिगाको अर्को खेलमा मेइन्ज ०५ र सेन्ट पाउलीले गोलरहित बराबरी नतिजा निकाले । मेइन्ज ८ अंकका साथ पुछारमा कायम रहँदा १२ अंक जोडेको सेन्ट पाउली १६ औं स्थानमा छ ।
