काठमाडौं । मोर्गान रोजर्सले दुई गोल गरेपछि एस्टन भिल्लाले आइतबार घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडलाई २–१ को नतिजामा निराश पारेको छ ।
तेस्रो स्थानको भिल्लाले जितपछि ३६ अंक जोड्दै शीर्ष स्थानको आर्सनलसँगको दुरी तीन अंकमा झारेको छ । आर्सनल ३९ अंकका साथ शीर्ष स्थानमा रहँदा म्यानचेस्टर सिटी ३७ अंकका साथ दोस्रो स्थानमा छ । पराजित युनाइटेड भने २६ अंकका साथ सातौं स्थानमा कायम छ ।
जोन म्याकजिनको पासमा गोल गर्दै रोजर्सले पहिलो हाफको अन्तिम समयमा भिल्लालाई अग्रता दिलाएका थिए । तर उनको त्यो अग्रता लामो समय टिक्न सकेन । पहिलो हाफको इन्ज्युरी समयमा मयाथुज कुन्हाले युनाइटेडका लागि बराबरी गोल गरेका थिए ।
तर रोजर्सले दोस्रो हाफ सुरु भएको १२ मिनेट नबित्दै व्यक्तिगत दोस्रो गोल गरे । ओली वाट्किन्सले मिलाएको अवसरलाई ५७औं मिनेटमा गोलमा परिणत गरेर रोजर्सले भिल्लाको तीन अंक पक्का गरेका थिए ।
