काठमाडौं । मोहम्मद सालाहले सोमबार अन्तिम समयमा गोल गर्दै इजिप्टलाई अफ्रिका कप अफ नेशन्समा विजयी सुरुआत दिलाएका छन् ।
सालाहको गोलप्रेरित इजिप्टले सोमबार कप अफ नेशन्सको समूह ‘बी’ अन्तर्गतको खेलमा जिम्बाब्वेमाथि २–१ को जित हासिल गरेको थियो ।
झण्डै एक महिनापछि पहिलो रोजाईबाट मैदान फर्किने क्रममा सालाहले कप्तानको रुपमा इजिप्टको नेतृत्व गरेका थिए । इन्ज्युरी समयमा गोल गर्दै उनले इजिप्टलाई फिफा विश्व वरियताको १२९ औं स्थानमा रहेको विपक्षीसँग लज्जाजनक तवरबाट विजयविमुख हुनबाट जोगाए ।
कीर्तिमानी सात पटकको च्याम्पियन इजिप्टलाई अगाधिरमा सोमबार जिम्बाब्वे रक्षापंक्ति र गोलकिपर वासिङटन अरुबीको असाधारण प्रदर्शनले लामो समयसम्म निराश पारिरहयो ।
‘हामीले गोल गर्ने धेरै अवसर खेर फाल्यौं । खासमा आज हामीलाई भाग्यले साथ दिइरहेको थिएन,’ इजिप्टका प्रशिक्षक होसाम हसनले भने, ‘पूरा खेल अवधिभरी हामी राम्रो टिम थियौं । तर पनि हामीलाई नतिजा हात पार्न धेरै गाह्रो भयो । फुटबलमा जहिले पनि पहिलो खेल गाह्रो नै हुन्छ । फुटबलको सुन्दरता भनेको पनि यही हो ।’
प्रिन्स दुबेले २०औं मिनेटमै इमानुअल जालाईको क्रसलाई गोलमा परिणत गर्दै इजिप्टलाई स्तव्ध बनाएका थिए । जसलाई ओमार मार्मोसले ६४औं मिनेटमा इजिप्टका लागि गोल गर्दै बराबरीमा ल्याएका थिए ।
बराबरीपछि पनि जिम्बाब्वेको जब्बर रक्षापंक्तिले इजिप्टलाई दुःख दिइरहेकै थियो । तर लिभरपुलका सुपरस्टार सालाहले इन्ज्युरी समयमा गोल गरेपछि टोली समूह ‘बी’मा तीन अंकका साथ सुरुआत गर्न सफल भयो । सालाहले अफ्रिकी फुटबलको सबभन्दा ठूलो यो प्रतियोगितामा अहिलेसम्म उपाधि जित्न सकेका छैनन् । यो उनको अफ्रिका कप अफ नेशन्समा पाँचौं सहभागिता हो ।
दक्षिण अफ्रिका पनि विजयी
समूह ‘बी’मा सोमबारै सम्पन्न अर्को खेलमा दक्षिण अफ्रिकाले पनि जितका साथ सुरुआत गरेको छ । दक्षिण अफ्रिकाले पनि कठिन खेलमा एङ्गोलामाथि २–१ को विजयी नतिजा निकाल्यो ।
यो जितसँगै दक्षिण अफ्रिकाको एङ्गोलाविरुद्ध ६ खेलको विजयरहित शृंखलाको पनि अन्त्य भयो । सन् २०१५ मा विश्वकप छनोटअन्तर्गतको खेलमा एङ्गोलालाई हराएपछि भएका ६ भेटमा दक्षिण अफ्रिकाले एउटै जित हासिल गर्न सकेको थिएन । यसबीचमा टोलीले तीन हार तथा तीन बराबरी नतिजामा चित्त बुझाएको थियो ।
माराकेचमा दक्षिण अफ्रिकाका लागि ओस्विन एपोलिसले २१ औं मिनेटमा गोलको खाता खोलेका थिए । तर मिड्फिल्डर शाँले केही मिनेटपछि एङ्गोलाको लागि खेल बारबरीमा ल्याए ।
फ्रेडीको फ्रिकिक उनलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएपछि एङ्गोलाले खेल बराबरीमा ल्याएको थियो । तर लाइल फोस्टरले समय सकिन ११ मिनेट बाँकी रहँदा गोल गरेर दक्षिण अफ्रिकालाई कठिन जितको हकदार बनाए ।
माली र जाम्बियाको बराबरी
समूह ‘ए’ मा सोमबारै माली र जाम्ब्यिाले १–१ को बराबरी नतिजा निकालेका छन् । सोही समूहअन्तर्गत भएको प्रतियोगिताको उद्घाटन खेलमा आइतबार आयोजक मोरक्कोले कोमोरोसमाथि २–० को विजयी नतिजा निकालेको थियो ।
