काठमाडौं । सान्तोषका ब्राजिली भेट्रान फरवार्ड नेयमारको वायाँ घुँडाको सल्यक्रिया भएको उनको क्लबले सोमबार जनाएको छ ।
लामो समयदेखि पीडा दिइरहेको चोटका कारण ३३ वर्षे नेयमार यो वर्ष अधिकांश खेलमा मैदान उत्रिन सकेका थिएनन् । केही समयदेनि नेयमारले शल्यक्रिया गरेरै चोटको स्थायी समाधान खोज्ने बताएका थिए ।
गतसाता एक सांगीतिक कार्यक्रम दौरान नेयमारले अर्को वर्षको विश्वकप खेल्ने र त्यहाँ केही गोल गर्ने आशा व्यक्त गरेका थिए । गत मे महिनामा नियुक्त गरिएका ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टीले भने अहिलेसम्म नेयमारलाई टिममा बोलाइसकेका छैनन् ।
‘हामी यसपाली विश्वकप जित्न असाधारण फुटबल खेल्नेछौं,’ नेयमारले भनेका थिए, ‘जुलाईमा यो कुरा हामीलाई सम्झाउनुहोला । कार्लो एन्सेलोट्टीले त्यसका लागि ब्राजिली टिमलाई सघाउनेछन् ।’
सन् २०२३ को अक्टोबरमा विश्वकप छनोट दौरान एसिएलमा चोट लागेपछि नेयमार निको हुनका लागि संघर्ष गरिरहेका छन् । जनवरीमा उनी आफ्नो किशोरावस्थाको क्लब सान्तोष फर्किएका थिए । जहाँबाट उनले ब्राजिली सिरी ‘ए’ अन्तर्गत ३८ मध्ये १९ खेल खेलेका छन् । त्यसक्रममा उनले ८ गोल गरेर सान्तोषलाई रेलिगेसनबाट बचाउन योगदान गरेका थिए ।
