काठमाडौं । डिजीआर स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा हुन लागेको टी-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपिएल) को ट्रायल सम्पन्न भएको छ।
देशभर विभिन्न स्थानमा सम्पन्न भएका ट्रायलमार्फत खेलाडी छनोट गरिने छ । मंलबार काठमाडौंको महालक्ष्मी स्पोर्टस हबमा अन्तिम ट्रायल सम्पन्न भएको हो। ट्रायलमा करिब १५०० भन्दा बढी खेलाडीले सहभागिता जनाएका थिए । जसबाट २५० जना खेलाडीहरुलाई अक्सनका लागि छनोट गरिनेछ ।
सात टिम सहभागी हुने प्रतियोगितामा कुल २५ खेल हुनेछ । लिग चरण सिंगल राउन्ड रोबिन प्रणालीमा सम्पन्न हुनेछ र शीर्ष चार टिमले सेमिफाइनलमा स्थान बनाउने छन् । विजेताले २१ तथा उपविजेताले ११ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिता केही समयका लागि स्थगित भएको छ। प्रतियोगिता असोज २१ देखि ३१ गतेसम्म हुने तय थियो । तर, भदौ २३ र २४ गतेकाे जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै प्रतियोगिता स्थगित गरिएको आयोजकले जनाएको छ।
प्रतियोगिताको नयाँ मिति छिट्टै नै सार्वजनिक हुनेछ ।