काठमाडौं । कोरियन स्टार सन ह्युन मिनको उत्कृष्ट प्रदर्शनप्रेरित लस एन्जलस एफसी बिहीबार मेजर लिग सकर (एमएलएस) मा रियाल साल्ट लेकविरुद्ध ४-१ को सहज जित दर्ता गरेको छ ।
जितसँगै २८ खेलमा ४७ अंक जोडेको लस एन्जलस इस्टर्न कन्फिरेन्सको चौथो स्थानमा उक्लिएको छ । पराजित साल्ट लेक २९ खेलबाट ३४ अंकका साथ १०औं स्थानमा छ ।
अमेरिका फर्स्ट फिल्डमा पाहुना टोली लस एन्जलसका लागि ह्युन मिनले ह्याट्रिक गर्दा डेनिस बोआङ्गाले एक गोल थपे । साल्ट लेकका लागि जाभियर गोजोले एक गोल फर्काए ।
खेलको तेस्रो मिनेटमै ह्युन मिनको गोलमार्फत लस एन्जलसले अग्रता लिएको थियो । १६औं मिनेटमा उनैले टोलीको अग्रता दोब्बर बनाए ।
गोजोले ७६औं मिनेटमा गरेको गोल साल्ट लेकका लागि सान्त्वना बन्यो । ८२औं मिनेटमा ह्युन मिनले ह्याट्रिक पूरा गरे ।
त्यसको ६ मिनेटपछि नै बोआङ्गाले लस एन्जलसका लागि चौथो गोल गरे । इन्जुरी समयमा भिक्टर ओलाटुन्जीले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि साल्ट लेक १० खेलाडीमा समेटिएको थियो ।
ह्युन मिन यसै सिजन इङ्लिस क्लब टोटनहम छाडेर लस एन्जलस आएका हुन् ।