काठमाडौं । पाकिस्तानविरुद्धको अन्तर्राष्ट्रिय ट्वान्टी-२० शृंखलाको दोस्रो खेलमा खेलमा घरेलु टोली वेस्ट इन्डिजले दुई विकेटको रोमाञ्चक जित निकालेको छ ।
वेस्ट इन्डिजकाे जितसँगै तीन खेलको शृंखला १-१ को बराबरीमा आएको छ । पहिलो खेलमा पाकिस्तान १४ रनले विजयी भएको थियो ।
आइतबार सेन्ट्रल ब्रोवार्ड रिजिनल पार्क रंगशालाको टर्फ मैदानमा पाकिस्तानले प्रस्तुत गरेको १३४ रनको लक्ष्य वेस्ट इन्डिजले अन्तिम बलमा आठ विकेट गुमाउँदै पूरा गर्यो ।
वेस्ट इन्डिजका गुडाकेश मोतीले २८, कप्तान साइ होपले २१, जेसन होल्डरले अविजित १६, रोस्टन चेजले १६, रोमारियो शेफर्डले १५ र ज्वेल एन्ड्रयुले ले १२ रन बनाए ।
पाकिस्तानका लागि मोहम्मद नवाजले तीन, सइम अयुबले दुई तथा शहिन शाह अफ्रिदी र सुफियान मुकिमले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३३ रनको योगफल तयार पारेको थियो ।
पाकिस्तानका लागि हसन नवाजले ४०, कप्तान सलमान अघाले ३८ र फखर जमानले २० रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
पाँचौं विकेटका लागि नवाज र अघाबीच ६० रनको साझेदारी भएको थियो । वेस्ट इन्डिजका लागि जेसन होल्डरले चार, गुडाकेश मोतीले दुई तथा अकिल हुसेन र शमर जोसेफ र रोस्टन चेजले समान एक विकेट लिए ।
शृंखलाको तेस्रो तथा निर्णायक खेल सोमबार हुनेछ ।