काठमाडौं । इङ्ल्यान्डसँगको पहिलो टेस्टको क्रममा अम्पायरको निर्णयप्रति असन्तुष्ट देखिएका भारतीय विकेटकिपर ब्याटर ऋषभ पन्तलाई आइसिसीले कारबाही गरेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले २७ वर्षीय पन्तलाई आचारसंहिताको धारा २.८ अन्तर्गत लेभल वान उलङ्घन गरेको ठहर गरेको छ। जसका कारण उनलाई एक डिमेरिट अंक दिइएको छ ।
हेडिंगलीमा भएको टेस्टको तेस्रो दिन इङ्ल्यान्डको पहिलो इनिङ्सको ६१औं ओभरमा यो घटना भएको थियो, त्यतीबेला ह्यारी ब्रुक र बेन स्टोक्स ब्याटिङ गरिरहेका थिए।
पन्तलाई खेलको बलको अवस्थाको बारेमा मैदानमा रहेका अम्पायर पल रिफेल र क्रिस गाफनीसँग छलफल गरिरहेको देखिएको थियो । अम्पायरले बल गेजले जाँच गरेपछि बल परिवर्तन गर्न अस्वीकार गर्दा, पन्तले उनीहरूको अगाडि बल भुइँमा फ्याँकेर प्रतिक्रिया जनाएका थिए ।
पन्तले आफ्नो गल्ती मान्दै म्याच रेफ्री रिची रिचर्डसनले प्रस्ताव गरेको सजाय स्वीकार गरिसकेको आइसिसीले जनाएको छ ।
‘पन्तको अनुशासनात्मक रेकर्डमा एक डिमेरिट अंक थपिएको छ । २४ महिनाको अवधिमा याे उनकाे पहिलो गल्ती थियो,’ आइसिसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
दुई वर्षको समयसीमा भित्र चार वा सोभन्दा बढी डिमेरिट अंक पुगेको खण्डमा उक्त खेलाडीलाई एक टेस्ट, दुई एकदिवसीय वा दुई ट्वान्टी-२० अन्तर्राष्ट्रियमा प्रतिबन्ध लाग्नेछ ।