काठमाडौं । घरेलु टोली पाकिस्तानले बंगलादेशविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा ‘क्लिन स्विप’ राखेको छ ।
आइतबार शृंखलाको तेस्रो तथा अन्तिम खेलमा पाकिस्तान सात विकेटको जित निकाल्यो ।
जितसँगै पाकिस्तानले शृंखला ३-० ले आफ्नो पक्षमा पार्यो । यसअघि पाकिस्तान ३६ रन र ५७ रनले विजयी भएको थियो ।
लाहोरको गद्दाफी क्रिकेट रंगशालामा बंगलादेशले प्रस्तुत गरेको १९७ रनको लक्ष्य पाकिस्तानले १७.२ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।
पाकिस्तानका लागि मोहम्मद ह्यारिसले ४६ बलमा आठ चौका र सात छक्काको मद्दतले अविजित १०७ रनको योगदान गरे । यसैगरी सइम अयुवले ४५, हसन नवाजले २६ र कप्तान सलमान आगाले अविजित १५ रन बनाए ।
ह्यारिसले दोस्रो विकेटका लागि अयुबसँय ९२ र चौथो विकेटका लागि आगासँग अविजित ६० रनको साझेदारी गरेका थिए ।
बंगलादेशका लागि मेहदी हसन मिराजले दुई र तान्जिम हसन साकिबले एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९६ रनको योगफल तयार पारेको थियो ।
बंगलादेशका लागि परभेज होसन इमोनले ३४ बलमा सात चौका र चार छक्काको मद्दतले सर्वाधिक ६६ रनको योगदान गरे । यसैगरी तान्जिद हसनले ४२, टोविड हृदयले २५, कप्तान लिटन दासले २२ र जाकिर अलीले अविजित १५ रन बनाए ।
पहिलो विकेटका लागि परभेज र तान्दिजले ११० रनको साझेदारी गरेका थिए ।
पाकिस्तानका लागि हसन अली र अब्बास अफ्रिदीले समान दुई तथा फहिम असरफ र शदाब खानले समान एक विकेट लिए ।