काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) ले नयाँ च्याम्पियन पाउने पक्का भएको छ ।
आइतबार सम्पन्न दोस्रो क्वालिफायरमा पञ्जाव किंग्सले मुम्बई इन्डियन्सलाई पाँच विकेटले हराउँदै फाइनलमा स्थान पक्का गर्यो । अब पञ्जावले उपाधिका लागि रोयल च्यालेन्जर्स बेङ्लुरुको सामना गर्नेछ । दुवै टोलीले हालसम्म आइपिएल जित्न सकेका छैनन् ।
पञ्जावले ११ र बेङ्लुरुले ९ वर्षपछि फाइनलमा स्थान बनाएका हुन् । पछिल्लो पटक पञ्जावले सन् २०१४ तथा बेङ्लुरुले २०१६ को फाइनल खेलेका थिए ।
अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा मुम्बईले प्रस्तुत गरेको २०४ रनको लक्ष्य पञ्जावले एक ओभर बाँकी रहँदा पाँच विकेट गुमाउँदै पूरा गर्यो ।
पञ्जावका लागि कप्तान श्रेयस अय्यरले ४१ बलमा आठ छक्का र पाँच चौकाको मद्दतले अविजित ८७ रनको योगदान गरे । यसैगरी नेहाल वधेराले ४८, जोश इङ्लिसले ३८ र प्रियान्श आर्याले १० रन बनाए ।
चौथो विकेटका लागि श्रेयस र नेहालबीच ८४ रनको साझेदारी भएको थियो ।
मुम्बईका लागि आश्विनी कुमारले दुई तथा ट्रेन्ट बोल्ट र कप्तान हार्दिक पाण्डेयाले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०३ रनको योगफल तयार पारेको थियो ।
मुम्बईका लागि तिलक वर्मा र सूर्यकुमार यादवले समान ४४, जोनी बेयरिस्टोले ३८, नमन धिरले ३७ तथा हार्दिक पाडेयाले १५ रन बनाए ।
तिलकले तेस्रो विकेटका लागि सूर्यकुमारसँग ७२ र दोस्रो विकेटका लागि जोनीसँग ५१ रनको साझेदारी गरेका थिए ।
पञ्जावका लागि अज्मतुल्लाह ओमरजाईले दुई तथा कायल जिमिसन, मार्कस स्टोइनिस, विजयकुमार वैशाक र युज्वेन्दर चहलले समान एक विकेट लिए ।