पोखरा । केपी ओली कप ट्वान्टी-२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको समूह ‘बी’ बाट गण्डकी हिरोज रनरेटको आधारमा अगाडि रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगिताको बिहीबार समूह ‘बी’ का अन्तिम खेल हुने भनिए पनि बुधबार रातिको अविरल वर्षाका कारण खेल हुन नसकेपछि रनरेटको आधारमा हिमालयन क्रिकेट एकेडेमीलाई पछि पार्दै गण्डकी शिर्षस्थानमा रह्यो ।
दुवै टोलीले तीन खेलबाट समान पाँच अंक जोडे । गण्डकीको रनरेट १.४३४६ रहँदा हिमालयनको ०.८१५८ रह्यो ।
उता ग्रेट हिमालयन क्रिकेट एकेडेमी र चितवन क्रिकेट क्लबको पनि तीन खेलबाट समान एक अंक जोडे ।
गण्डकी अन्तिम चारमा पुग्ने दोस्रो टोली बनेको छ । यसअघि समूह ‘ए’ बाट शीर्षस्थानमा रहँदै क्रिकेट एक्सिलेन्स सेन्ट (सिइसी) काठमाडौंले सेमिफाइनलमा स्थान बनाएको थियो ।