धनगढी । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललिलनारायण राजवंशीले डिसिए धनगढीबाट अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने भएका हुन् ।
गो ड्रिमर्सको आयोजनामा प्रतियोगिता माघ १९ देखि २८ सम्म हुँदैछ । फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा माघ १९ गते हुने उद्घाटन खेलमा डिएस धनगढीले डडेल्धुराको फेन्ड्स क्लबको सामना गर्नेछ ।
यस्तै ललित समावेश रहेको डिसिए धनगढीले माघ २० गते घोडाघोडी-११ सुख्खड तथा माघ २२ गते बोष्टन क्रिकेट झापासँग खेल्नेछ ।
ललितले जनकपुर बोल्ट्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) तथा नेपाल पुलिस क्लबलाई जय ट्रफीको च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका थिए ।
उनले एनपिएलमा १७ र जय ट्रफीमा २३ विकेट लिएका थिए ।
धनगढी र सुदुरपश्चिम प्रदेशको क्रिकेट विकाशमा महत्वपूर्ण योगदान गरेका स्वर्गीय अर्जुन खड्काको स्मृतिमा हुन लागेको प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी पाउनेछन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई १ लाख रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उदीयमान खेलाडीले जनही ५० हजार पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ ।
प्रतियोगितामा सहभागी टोलीले ‘ए’ क्याटोगोरीका चार तथा ‘ब’ र ‘सी’ क्याटोगोरीका समान ६ खेलाडी समावेश गर्न पाउनेछन् ।
‘ए’ क्याटोगोरीमा नेपाली राष्ट्रिय टिम तथा ‘बी’ क्याटोगोरीमा नेपालको ‘ए’, यु-१९ टिमका तथा प्रदेशस्तरीय सिनियर खेलाडी छन् ।
यसैगरी ‘सी’ यु-१६ राष्ट्रिय टोली, प्रदेशका यु-१९ र यु-१६ टोलीका तथा अन्य खेलाडी छन् ।