काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लुम्बिनी लायन्सविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्यसले सानदार बलिङ सुरुआत गरेको छ ।
१८८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले पावरप्ले (सुरुआती ६ ओभर) मा पाँच विकेट गुमाएर ३६ रन बनाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा लुम्बिनीका लागि सन्दीप जोरा १० र विवेक यादव ६ रन बनाएर खेलिरहेका छन् ।
सुदूरपश्चिमका लागि ब्रेन्डन म्याकमुलनले तीन र स्कट कुग्गेलिजनले दुई विकेट लिएका छन् ।
ओभरको पहिलो बलमै स्कट कुग्गेलिजनले अर्जुन साउदलाई एलबिडब्ल्युको धरापमा पारे । सोही ओभरको अन्तिम बलमा उन्मुक्त चन्द पनि एलबिडब्ल्युको शिकार बने । उनले चार रन प्रहार गरे ।
दोस्रो ओभरको पाँचौं बलमा पाँच रन बनाएर खेलिरहेका कप्तान रोहितकुमार पौडेललाई ब्रेन्डन म्याकमुलनले पेभेलियनको बाटो देखाए । रोहित इशान पाण्डेबाट क्याच भए ।
चौथो ओभरको दोस्रो बलमा टम मुर्स म्याकमुलनकै शिकार बने । सात रन बनाएका मुर्स पनि इशानबाटै क्याच भए ।
लगत्तैको बलमा म्याकमुलनले साद बिन जफरलाई रनको खाता पनि खोल्न नदिइ एलबिडब्ल्युको धरापमा पारे ।