काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबारको पहिलो खेलमा जितविहीन लुम्बिनी लायन्सले अपराजित सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।
रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्स एनपिएलमा जित निकाल्न नसक्ले एक मात्र टोली हो । बाँकी सात टोलीले कम्तिमा पनि एक खेल जितेका छन् । त्यसैले लुम्बिनीलाई यो खेल जित्नै पर्ने दबाब छ ।
लुम्बिनीले पहिलो खेलमा विराटनगरविरुद्ध दुई विकेटको हार ब्यहोरेको थियो । शुक्रबार लुम्बिनीले दोस्रो खेलमा पनि जित निकाल्न सकेन । एकतर्फी बनेको खेलमा लुम्बिनी पोखरा एभेन्जर्ससँग १० विकेटले पराजित भयो ।
सुदूरपश्चिमविरुद्ध पनि जित निकाल्न नसके लुम्बिनीको प्लेअफ पुग्ने सम्भावना न्युन हुनेछ । उता जितले सुदूरपश्चिमलाई प्लेअफको बाटो सहज बनाउनेछ ।
दीपेन्द्रसिंह ऐरिको कप्तानीमा रहेको सुदूरपश्चिमले यसअघिका दुवै खेलमा एकतर्फी जित हासिल गरेको छ । पहिलो खेलमा विराटनगरविरुद्ध ९० रनको फराकिलो जित हासिल गरेको सुदूरपश्चिमले दोस्रो खेलमा काठमाडौं गुर्खाजलाई ७३ रनले हरायो ।
दिनको दोस्रो खेलमा कर्णाली याक्सले विराटनगर किंग्सको सामना गर्नेछ ।