काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत काठमाडौं गुर्खाजले सुदूरपश्चिमविरुद्ध अर्धशतक प्रहार गरेका ब्रेन्डन म्याकमुलन र अर्धशतकको बाटोमा रहेका विनोद भण्डारीको विकेट लिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी बुधबारको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमका लागि म्याकमुलन र विनोदले ८६ रनको साझेदारी गरे ।
न्युजिल्यान्डका ब्याटर म्याकमुलनले ३१ बलमा तीन चौका र चार छक्कासहित ५० रन पूरा गरेका थिए । त्यसपछि पाँच बल खेलेका म्याकमुलन थप तीन रन जोड्दै इरास्मसको बलमा साहव आलमबाट लङ अफमा क्याच भए । त्यसपछि १३औं ओभरको पहिलो बलमा आलमले २८ बलमा दुई चौका र दुई छक्का सहित ३५ रन बनाएर क्रिजमा रहेका विनोदको विकेट लिए । जारी प्रतियोगितामा म्याकमुलन ५० रन पूरा गर्ने आठौं खेलाडी बनेका छन् ।
सुदूरपश्चिमले १४ ओभर खेल्दा तीन विकेटको क्षतिमा ११४ रन जोडेको छ । अहिले क्रिजमा कप्तान दीपेन्द्र सिंह ऐरि र रोहन मुस्ताफा ब्याटिङ गरिरहेका छन् ।