काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज काठमाडौं गुर्खाजले नाथन सोउटरलाई अनुबन्ध गरेको छ ।
सोउटरले इंङ्लिस घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । ३२ वर्षीय सोउटर १४३ ट्वान्टी-२० खेलमा १५४ विकेट लिएका छन् । यसैगरी उनको नाममा २४५ रन पनि छ ।
काठमाडौँका प्रमुख कार्यकारी अधिकृत सन्देश कटवालले सोउटरलाई भित्र्याउन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए ।
‘सोउटरले हाम्रो टोलीमा अनुभव र रणनीतिक कौशल थप्नेछन् । दबाबपूर्ण परिस्थितिमा उत्कृष्ट प्रदर्शन गर्ने उनको क्षमता हाम्रो अभियानका लागि निकै महत्वपूर्ण हुनेछ । हामी उनलाई काठमाडौं परिवारमा स्वागत गर्न पाउँदा उत्साहित छौं’, कटवालले भने ।
सोउटरले काठमाडौंमा आबद्ध हुन पाउनु आफ्ना लागि सम्मानको विषय रहेको बताए । ‘काठमाडौँमा सामेल हुनु मेरो लागि सम्मानको कुरा हो । म नेपालका क्रिकेटप्रेमी प्रशंसका अगाडि उत्कृष्ट प्रदर्शन गर्न र टोलीको सफलतामा योगदान दिन उत्सुक छु,’ सोउटरले भने ।
सोउटर काठमाडौं भित्रिने पाँचौं विदेशी खेलाडी हुन् । टोलीले यसअघि नेदरल्यान्ड्सका माइकल लेभिट, नामिबियाका जेरहार्ड इरास्मस र इङ्ल्यान्डका स्टेफन इस्किनाजी र डेनियल अलेक्जेन्डर डथवेटलाई भित्र्याएको थियो ।
काठमाडौंको मार्की खेलाडीमा राष्ट्रिय टोलीका अलराउन्डर करण केसी छन् । यसैगरी टोलीले बसन्त शाही ठकुरीलाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।
प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा काठमाडौंसहित लुम्बिनी लायन्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, कर्णाली याक्स र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछन् ।