काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)का लागि एनसेल र नेपाल क्रिकेट संघ (क्यान) बीच साझौता भएको छ ।
एनपिएलमा एनसेल ‘पावर्ड बाई’ साझेदारको रूपमा आवद्ध भएको छ । एनसेलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ र क्यानका सचिव पारस खड्काले समझदारी सम्झौता पत्रमा हस्ताक्षर गरे ।
प्रमुख कार्यकारी अधिकृत कायुमोभले एनपिएससँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।
‘हामी नेपाल प्रिमियर लिगका लागि क्यानसँग ‘पावर्ड बाई एनसेल’ साझेदारी घोषणा गर्न पाउँदा अत्यन्त खुशी छौं । यो साझेदारी केवल नेपालमा खेल प्रतिभा प्रवर्द्धन गर्नका लागि मात्र नभएर यस्ता प्रतियोगितालाई सफल बनाउने दर्शक र प्रशंसकहरुको लागि पनि हो,’ जाब्बोरले भने ।
यसैगरी क्यानका सचिव पारस खड्काले एनपिएको उदेश्य प्राप्तिका लागि एनसेलसँगको सहकार्यले मद्दत गर्ने प्रतिक्रिया दिए ।
‘एनपिएलको लक्ष्य भनेको क्रिकेट र हाम्रा खेलाडीको विकासमा सहयोग गर्नु हो । हामी प्रतियोगितालाई विश्वकै प्रतिष्ठित क्रिकेट लिगमध्ये एकको रूपमा स्थापना गर्न चाहन्छौं र यस दीर्घकालीन लक्ष्य पछ्याउदै गर्दा खेलकुदको विकास र प्रवर्धनलाई निरन्तर समर्थन र साथ दिइरहेको एनसेलसँग सहकार्य गर्न पाएकोमा हामी आभारी छौं । यसले आफ्नो लक्ष्य प्राप्तिमा सहयोग पुर्याउने छ,’ खड्काले भने ।
क्यानको आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ । प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स, कर्णाली याक्स र लुम्बिनी लयान्सले प्रतिस्पर्धा गर्नेछन् ।